काठमाडौँ: नेपाली फुटबल राष्ट्रिय टिमले दशरथ रंगशालामा ६ वर्षअघि भएको विश्वकप २०१८ छनोटको प्रारम्भिक चरणको दोस्रो लेग चिरपरिचित प्रतिद्वन्द्वी भारतविरुद्ध गोलरहित टुंग्याएको थियो । त्यसयता नेपाली सिनियर टिम पहिलोपल्ट उक्त रंगशालामा बिहीबार फर्किंदै छ । थ्री नेसन्स कपमा यसपल्टको प्रतिस्पर्धी बनेको मध्य एसियाली देश किर्गिस्तानको ओलम्पिक टिम (यू–२३) ।
नेपालले मार्च १७, २०१५ मा भारतविरुद्ध करिब १० हजार दर्शकसामु प्रतिस्पर्धा गरेको थियो । तर, पाँच दिनअघि सुनील क्षत्रीले गुवाहाटीमा गरेको दुई गोलका कारण दशरथ रंगशालाको बराबरी नतिजाले पनि पहिलो खुट्किलोमै नेपालको पाइला रोकिएको थियो । त्यसको एक महिनापछिको महाभूकम्पले देशसँगै दशरथ रंगशालालाई पनि थिलथिलो बनाइदियो । सबलीकरणको काम कछुवा गतिमा भइरहेपछि बल्ल गत वर्ष मंसिरमा भएको १३ औं सागका लागि तयार पारिएको थियो दशरथ रंगशाला । यही रंगशालामा २३ वर्षमुनिको नेपाली टिमले सागको स्वर्ण जितेको थियो ।
हल्चोक मैदान र एन्फा कम्प्लेक्स (सातदोबाटो) ले एसियन कप २०१९ को छनोट खेल आयोजना गर्यो । दशरथ रंगशालाले भने आफ्नै राष्ट्रिय टिमलाई मैदानमा उतार्न पाएन । यसले कहिले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को स्तर छुन सकेन त कहिले कोभिड–१९ ले मौका दिएन । त्यसैले दशरथ रंगशालामा नेपाली राष्ट्रिय टिमले प्रतिस्पर्धा गर्न ६ वर्ष प्रतीक्षा गर्नुपर्यो ।
तैपनि किर्गिज यू–२३ विरुद्धको प्रतिस्पर्धाले ‘अन्तर्राष्ट्रिय खेल’ को मान्यता पाउने छैन, किनभने पाहुना टिम उमेर समूहको हो, सिनियर होइन । फिफाको मान्यताप्राप्त अन्तर्राष्ट्रिय खेलका लागि नेपालले शनिबार नै कुर्नुपर्छ, जहाँ बंगलादेशले पर्खिरहेको छ ।
नेपालले दशरथ रंगशालामा पछिल्लो खेल सागर थापाको कप्तानीमा खेलेको थियो । उही रंगशालामा फर्कंदा राष्ट्रिय टिममा आमूल परिवर्तन आएको छ । नेपाली फुटबलले ठूलै उतारचढाब पनि बेहोर्यो ।
यसबीच कप्तान थापासहित भारतविरुद्ध ६ वर्षअघिको टिममा रहेका डिफेन्डर सन्दीप राई र गोलकिपर रितेश थापालगायत ६ जनामाथि एसियाली फुटबल महासंघ (एएफसी) ले ‘म्याच फिक्सिङ’ को आरोपमा आजीवन प्रतिबन्ध लगायो । दुई दशक एन्फाको नेतृत्व गरेका गणेश थापालाई भ्रष्टाचारको अभियोगमा फिफाले १० वर्ष प्रतिबन्ध लगायो । मैदानभित्र भने ऐतिहासिक सफलता हात पार्यो । राष्ट्रिय टिमले दुई (बंगबन्धु र एएफसी सोलिडारिटी कप) र यू–२३ टिमले सागमा दुई स्वर्ण जित्यो ।
भारतविरुद्ध ६ वर्षअघि गोलपोस्ट सम्हालेका किरण चेम्जोङ आफै अहिले नेपाली टिमका कप्तान भइसकेका छन् । उनी रंगशालामा राष्ट्रिय टिमको पुनरागनलाई लिएर निकै उत्साही छन् । ‘लगभग ६ वर्षपछि रंगशालामा फर्कन पाएकोमा निकै उत्साही छु,’ राष्ट्रिय टिमको ट्रेनिङ सेसनअघि बुधबार उनले भने, ‘दर्शक र समर्थकसामु खेल्न पाउँदै निकै गौरवान्वित हुनेछु ।’
प्रतिस्पर्धी किर्गिज युवा टिमबारे उनले सटिक जवाफ दिए, ‘कसैलाई पनि कमजोर मान्नु हुँदैन ।’ प्रतियोगिताको पहिलो खेलमा किर्गिस्तानी टिम १–० ले बंगलादेशविरुद्ध हारेको थियो । बंगलादेशले पनि प्रत्येक खेलमा राम्रो गरेको किरणले बताए । गत कात्तिक महिनादेखि राष्ट्रिय टिमको तयारी निरन्तर भएकाले पनि उनी उत्साही छन् । आफ्नै खेलबारे उनी बोले, ‘म मेरो उत्कृष्ट दिने प्रयास गर्दै आफ्नो टिमलाई साथ दिनेछु ।’
पूर्वकप्तान विराज महर्जन टिममा फर्किए ‘आर्मब्यान्ड’ को जिम्मेवारी किरणलाई दिने मुख्य प्रशिक्षक बालगोपाल महर्जनले गरिसकेका छन् । यसबारे किरणले प्रतिक्रिया दिए, ‘सुरुमा मेरो सपना थियो राष्ट्रिय टिमबाट खेल्ने, देशलाई योगदान गर्छु भनेर । तर, कहिल्यै कप्तान भएर राष्ट्रिय टिमको नेतृत्व गर्छु भन्ने सोचेको थिइनँ । नेपाली फुटबललाई नेतृत्व र स्तरवृद्धि गर्ने अवसर दिनुभएको छ, पक्कै पनि यसमा आफूले सक्दो गर्छु र दिन्छु ।’
‘अंक गुमाउनु हुन्न’
‘हामीले किर्गिस्तानी टिम अलि राम्रै अपेक्षा गरेका थियौं, त्यहीअनुसार तयारी,’ प्रतियोगिताको पहिलो दिन मंगलबार बंगलादेशविरुद्ध १–० ले हारेको किर्गिज यू–२३ टिमबारे प्रशिक्षक महर्जनले भने, ‘पहिलो खेल भएर पनि होला, हामीले सोचेजस्तो भएन । तर, त्यस्तो भयो भनेर हामीले कमजोर मान्नु हुँदैन, भोलि (बिहीबार) अर्के हुनसक्छ ।’
राष्ट्रिय टिमको जिम्मेवारीमा हुँदाहुँदै नेपाल सुपर लिगको फ्रेन्चाइज टिम काठमाडौं रेजर्सको मुख्य प्रशिक्षक नियुक्त भइसकेका महर्जनले भने, ‘ट्रेनिङका दौरानमा जति खेलेको छ, त्यति मात्रै खेले पनि हामीले राम्रो नतिजा (किर्गिस्तानविरुद्ध) निकाल्न सक्छौं । उनीहरूले गर वा मरको हिसाबले खेल्न आउँछ, त्यसबाट सचेत भएर हामीले कुनै पनि हालतमा अंक गुमाउनुहुँदैन, जसरी भए पनि अंक जोड्नुपर्छ ।’ उनले दशरथ रंगशालामा राष्ट्रिय टिम फर्कंदा दबाबभन्दा बढी अवसर भएको पनि बताए ।
पहिलो खेलमा हात पारेको जितसँगै बंगलादेश फाइनल नजिक पुगेको छ । तीन देश सहभागी प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपाल र बंगलादेश भिड्दैछन् ।
विराज फर्किए
अखिल नेपाल फुटबल संघ (एन्फा) ले तीन नयाँ खेलाडी समावेश गर्दै थ्री नेसन्स कपका लागि २३ सदस्यीय नेपाली टिम बुधबार घोषणा गरेको छ । पूर्वकप्तान विराज महर्जन दुई वर्षपछि टिममा फर्किए । उनले थ्री नेसन्स कपपछि संन्यास लिने बताइएको छ ।
अविश्वनीय रूपमा डिफेन्डर विकास खवास र फरवार्ड नवयुग श्रेष्ठ फालिएका छन् । डिफेन्डर निशान खड्का, मिडफिल्डरद्वय त्रिदेव गुरुङ र सन्जोग राईले पहिलोपल्ट राष्ट्रिय टिममा स्थान बनाए । राष्ट्रिय टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले टिम छनोटबारे भने, ‘तीन महिनाको दौरान (ट्रेनिङ) उनीहरूको प्रदर्शनबाट जो उत्कृष्ट, जो क्षमतावान, जो प्रयासरत, जो टिमलाई आवश्यक छ, उसैलाई छानेको हो । मसहित टेक्निकल टिमले छनोट गरेको हो ।’
स्विडिस प्रशिक्षक योहान कालिन महामारीका कारण उतै रहेपछि फेरि राष्ट्रिय टिमको जिम्मेवारी पाएका महर्जनले थपे, ‘थ्री नेसन्स कप तयारीमात्रै हो । अन्ततः हामीले खेल्ने भनेको विश्वकप छनोट नै हो । त्यसैका लागि मैले यस्ता खेलाडीलाई प्राथमिकता दिएको छु कि प्रयासरत होस्, जो प्राविधिक रूपमा उत्कृष्ट होस्, ट्याक्टिकल रूपमा जानकार होस्, अलिकति भिडेर/लखेटेर खेल्नसक्ने होस् । त्यो हिसाबले छनोटमा राखेका हौं ।’ उनले अन्तिम छनोटबाट गोलकिपर विशाल श्रेष्ठ र विशाल सुनुवार, डिफेन्डर पाल्साङ लामा, सुरज बिक र विकास खवास, मिडफिल्डर हेमन्त थापामगर र सन्तोष तामाङ, फरवार्ड आशिष लामा, नवयुग श्रेष्ठ र जर्जप्रिन्स कार्कीलाई टिमबाट हटाए ।
नयाँ खेलाडीबारे उनले भने, ‘तीन महिनामात्रै होइन, त्यसअगाडिदेखि नियालरिहेको छु । प्रदर्शनमा सन्तुष्ट छु । नयाँ खेलाडी बेन्चमा बस्न ल्याइएको होइन, खेलाउनकै लागि हो ।’ बंगबन्धु गोल्डकप जित्दाका हिरो नवयुग र ‘ए’ डिभिजन लिगका सर्वाधिक गोलकर्ता आशिष बाहिरिएकोबारे महर्जनले भने, ‘डिफेन्स र मिडफिल्डलाई गहन (ह्याभी) बनाएको छु । अट्याकिङमा पनि । दर्शन गुरुङ राम्रो, अन्जन राम्रो, सन्जोग त्यत्तिकै राम्रो छ । पूरा टिम नै बलियो छ ।’
