काठमाडौं : हत्याकाण्डमा दोषी ठहरी जेल सजाय भोगिरहेका निलम्बित सांसद रेशम चौधरीलाई एमाले नेता महेश बस्नेतले भेटेका छन ।
जेलभित्रै पुगेका बस्नेत प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेता हुन ।
कैलालीबाट निर्वाचित जनता समाजवादी पार्टीका निलम्बित सांसद चौधरीलाई शुक्रबार बिहान डिल्लीबजार कारागार पुगी भेट गरेका हुन्।
प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा जसपालाई सहभागी गराएर संसदमा बहुमत पु¥याई विश्वासको मत लिने प्रयास भइरहेका बेला बस्नेतले चौधरीलाई भेट गरेका हुन्।
ओली र जसपा अध्यक्ष महन्थ ठाकुर लगायतका नेताहरुबीच निरन्तर वार्ता जारी छ।
जसपाले सरकारमा सहभागिताका लागि चौधरी लगायतका सो पार्टीका नेता कार्यकर्ताहरुको मुद्दा फिर्ता र रिहाइको शर्त राख्दै आएको छ।
२०७२ सालमा कैलालीमा एक एसपीसहित सात प्रहरी र एक बालकको हत्या भएको काण्डका चौधरी दोषी हुन्। जिल्ला अदालत र उच्च अदालतले चौधरीलाई मुख्य योजनाकारका रुपमा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको छ।
जसपाभित्र अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले ओली नेतृत्वको सरकारमा जान नहुने बताइरहेका बेला ठाकुर पक्ष भने बालुवाटारसँग निरन्तर वार्तामा रहेको छ।
गृहमन्त्री रामबहादुर थापाले बिहीबार आन्दोलनरत् थारु समुदायहरुका प्रतिनिधिहरुकै बीचमा पुगी चौधरी लगायतलाई रिहा गर्न सरकारले प्रक्रिया अघि बढाइसकेको बताएका थिए।