काठमाडौं : ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) को बाँडफाँड सम्पन्न गरेको छ । आईपीओ ज्योति लाइफ इन्स्योरेन्सको भवन, ज्ञानेश्वरमा आज (शुक्रबार) बाँडफाँड भएको हो ।
बाँडफाँड सम्पन्न भए पनि यसको नतिजा भने साँझ ६ बजेपछि मात्र हेर्न सकिनेछ ।
निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडका अनुसार सिस्टममा अपडेट गर्न समय लाग्ने भएकोले रिजल्ट ६ बजेपछि मात्र हेर्न सकिनेछ ।
गोलाप्रथाद्वारा गरिएको बाँडफाँडमा ५ लाख ९४ हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् । यता बाँकी १२ लाख ४८ हजार ४ सय ९६ आवेदकहरू भने सेयर पाउनबाट वञ्चित भएका छन् ।
बाँडफाँड सम्पन्न भएपनि आइपिओको नतिजालाई सिडिएस एण्ड क्लियरिङ लिमिटेड, मेरो सेयर सफ्टवेयर, मेरो सेयर एपमा अपलोड गर्न समय लाग्छ । त्यसैले रिजल्ट हेर्न लगानीकर्ताले ६ बजेसम्म कुर्नुपर्नेछ ।
कम्पनीको आईपीओमा १८ लाख ४२ हजार ४ सय ८० जनाको आवेदन परेको थियो । जसमध्ये, ४४ हजार ६ सय ४५ जना आवेदको आवेदन रद्द भएको थियो र बाँकी १७ लाख ९७ हजार ८ सय ३५ जना मात्र योग्य आवेदक रहेका थिए ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता साधारण सेयर ९आईपीओ० निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात् ३ लाख ३० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई, ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि छुट्याइएको थियो ।