काठमाडौँ: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जना भन्दा बढी मानिस भेला नहुन आग्रह गरेको छ । कोभिड–१९ संक्रमणको दोस्रो लहर आएसँगै मन्त्रालयले भीडभाड कम गर्न र २५ जनाभन्दा बढी मानिस भेला नहुन आग्रह गरेको हो ।
मन्त्रालयले २५ जनाभन्दा बढी मानिस भेला हुन नदिने व्यवस्था गर्न मन्त्रिपरिषद्समक्ष प्रस्ताव लगेको प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
प्रवक्ता गौतमले स्कुल, कलेज, सिनेमा हल, पार्टी प्यालेस, जुलुसलगायत सबै बन्द गर्नुपर्ने अवस्था आएको बताए । अहिले देखिएका संक्रमितहरुमा जटिल प्रकृतिको लक्षण देखिएको र संक्रमण दर पनि बढेर गएकाले सावधानी अपनाउनुपर्ने बेला आएको उनको भनाइ छ
‘अहिले जुन भीडभाड भइरहेको छ कति ठाउँमा, अब त्यो भीडभाड पूरै बन्द गर्नुपर्छ । एकदमै जनस्वास्थ्यका मापदण्ड फलो गरेर २५ जनाभन्दा कम मान्छे दूरी कायम गरेर भेला हुन सकिन्छ । त्यो पनि अब कति दिनपछि नगर्नुस भन्नुपर्ने अवस्था आउन सक्छ । स्कुल, कलेज, सिनेमा हल पार्टी प्यालेस, भेला, जुलुस, भीडभाड, ठूलाठूला ग्यादरिङहरु सबै बन्द गर्नुपर्छ भनेर हामीले भनेका छौं । अहिले छिटपुट रुपमा कोभिड–१९ का केसहरु गएको महिनाको भन्दा बढेर गयो ।
अस्पतालमा आईसीयूमा बिरामीहरु धेरै नै भर्ना भइसकेका छन् । त्यसबाट के बुझिन्छ भने अहिले अब कोरोनाको ग्राफ उकालो लाग्यो । अब बढ्न थाल्यो । अब हामीले ध्यान दिएनौं भने फेरि संक्रमण एकदम बढेर जान्छ ।’
प्रवक्ता गौतमले अहिले कोरोना सर्ने साइकल अथवा चेनलाई ब्रेक गर्नुपर्ने अवस्था आइसकेको पनि बताए । त्यसका लागि भीडभाड नगर्ने, दूरी कायम गर्ने, मास्क लगाउने, सेनिटाइज गर्ने र लक्षण देखिए तुरुन्त जाँच गराउनुपर्ने बताए । यस्तै भीडभाड हुने सबै व्यवसाय तथा पेसालाई जनस्वास्थ्यका मापदण्ड पालना गराएर मात्रै सञ्चालन गर्न दिनुपर्ने पनि गौतमको भनाइ छ ।
‘कहीँ न कहीँ कोरोना सर्ने जुन साइकल छ, ट्रान्स्मिसन हुने जुन चेन छ त्यसलाई ब्रेक गर्नुपर्छ । त्यो ब्रेक गर्नु भनेको भीडभाड नगर्ने, दूरी कायम गर्ने, मास्क लगाउने, सेनिटाइज गर्ने, र लक्षण देखियो भने तुरुन्त जाँच गराएर उपचार पनि गर्ने, त्यो गर्नका लागि हामीले भीडभाड हुने सबै व्यवसाय, पेशालाई जनस्वास्थ्यका मापदण्ड फलो गरेर गर्नचाहिँ मिल्छ तर त्यो भनेको के हो भने भीडभाड नगरेर डिस्टेन्स कायम नगरीकन अब कुनै पनि काम गर्न मिल्दैन भनेको हो ।’