काठमाडौँ:
जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतको विपक्षमा मत दिने घोषणा गरेका छन् । अर्का अध्यक्ष महन्थ ठाकुरले भने अहिलेको अवस्थामा आफुहरु विश्वासको मतको प्रस्तावको पक्षमा पनि नभएको र विपक्षमा पनि नभएको भन्दै तटस्थ बस्ने बताएपनि यादवले भने विपक्षमा रहेको बताएका हुन् ।
ओलीले विश्वासको मत लिनकै लागि बोलाइएको बैठकलाई सम्बोधन गर्दै उनले आफूहरु नयाँ सरकार बनाउने बाटोमा अघि बढिसकेको पनि बताए । दुई पार्टीका अध्यक्षको फरक फरक अभिव्यक्तिले पार्टीभित्रको विवाद संसदमै पनि छताछुल्ल देखिएको छ ।
यादवले भने, ‘हामी विश्वासको मत दिन सक्दैनौँ, हाम्रा साथीहरु विश्वासको मतको विरुद्धमा मतदान गर्ने र विकल्प खोज्ने बाटोमा अघि बढिसकेको कुरामा अवगत गराउन चाहन्छु ।’
यादवले प्रधानमन्त्री ओलीले सुखी नेपाली समृद्ध नेपालको नारा लगाउँदै आएपनि उनकै कार्यशैलीले दरिद्र नेपाल दुःखी नेपाली हुने अवस्था आएको भन्दै कटाक्ष पनि गरे ।
यस्तै यादवले प्रधानमन्त्री अोलीले विश्वासको मत लिनका लागि डाकिएको बैठकमा यादवले ओलीलाई संघीयता विरोधी भएको आरोप लगाए । ओलीले प्रदेशलाई संघको इकाइ भएको बताउने गरेको उल्लेख गर्दै ओली समावेशीको विपक्ष र संघीयतालाई नै धरापमा पार्ने खेलमा रहेको बताए ।
उनले त्याग र बलिदानबाट प्राप्त भएको उपलब्धिलाई कसैले पनि निस्तेज पार्न नसक्ने भन्दै ओली त्यही बाटोमा रहेकाले कसरी विश्वासको मत दिने भन्दै प्रश्न गरे । उनले ओलीले मधेसी दललाई फकाउने प्रयास गरिरहेको आफूले बुझेको भन्दै त्यो राजनीतिक स्वार्थ बाहेक केही हुन नसक्ने बताए । विगतमा ओलीले मधेशीलाई दुर्व्यवहार गरेको भन्दै उनले विगतमा दुईचार वटा आँप झरेर केही पर्दैन भन्ने ओलीले अहिले त्यही आँप खुवाउन खोजेको भन्दै आक्रोश पोखे ।
देश कोरोना महामारीले आक्रान्त बनेको बेला उनी राममन्दिर बनाउने अभियानमा लागेको भन्दै यादवले कटाक्ष गरे ।
यादवले जुन सदनलाई ओलीले असंवैधानिक तरिकाले ओलीले विघटन गरे, जुन संसदमाथि उनकै विश्वास छैन उनलाई कसरी विश्वासको मत दिने रु भन्दै प्रश्न पनि गरे । यस्तै यादवले ओली सरकारले भ्रष्टाचारलाई ढाकछोप गर्ने गरेको भन्दै सो कुरा ट्रान्सपरेन्सी इन्टरनेशलनको पनि उल्लेख गरेको छ ।
राजपामा ओली सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्नेमा लामो समयदेखि विवाद रहेको छ । यही विवादका कारण पार्टी फुटतिर गएपछि आइतबारको पदाधिकारी बैठकले ओलीलाई विश्वासको मत दिने नदिनेबारे सांसदलाई ह्वीप जारी नगर्ने निर्णय गरेको थियो । जसअनुसार ठाकुर पक्षले तटस्थ र यादव पक्षले विपक्षमा मतदान गर्नेछन् ।