काठमाडौं: वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैंकर्स संघको नयाँ कार्यसमिति मंगलबार घोषणा हुने कार्यक्रम रहेको छ ।
संघको अध्यक्षमा यसअघि नै नेपाल कृषि विकास बैंकका अनिल उपाध्याय सर्वसम्मत चयन भइसकेका छन् । अध्यक्षका लागि उम्मेदवारी दिने निर्धारित मितिसम्म उपाध्यायको मात्रै उम्मेदवारी परेको थियो । एक साता अघि नै उपाध्याय नै अध्यक्ष हुने पक्का भए पनि औपचारिक घोषणा भने आज हुने छ ।
आज दिउँसो ४ बजे होटल र्याडिसनमा संघको साधारणसभाबाट सो को छिनोफानो हुनेछ । साधारणसभामा अध्यक्षसहितको कार्यसमिति घोषणा गरिने संघका कार्यकारी निर्देशक अनिल शर्माले पहिलोक्लिकलाई बताए। अनिल शर्मा यसअघि संघको उपाध्यक्ष थिए ।
संघमा दुई नयाँ सदस्यहरू समेत चयन भएका छन् । नेपाल क्रेडिट एण्ड कमर्श बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालको कार्यकाल पूरा भएको र सनराइज बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याल बैंकबाट बाहिरिए पछि दुई सदस्य रिक्त थियो।
सदस्य पदमा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय बिक्रम शाह र एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने चयन भएका छन् ।
रिक्त यी पदमा दुई जनाको मात्रै उम्मेदवारी परेकाले दुवै जना सर्वसम्मत चयन भएको संघका कार्यकारी निर्देशक शर्माले जानकारी दिए ।