काठमाडौं: नेपाल विद्युत प्राधिकरणले थप दुई जलविद्युत आयोजनाको विद्युत भारत निर्यातका लागि अनुमति पाएको छ। काबेली बी-१ (२४.२५ मेगावाट) र तल्लो मोदी (१९.४ मेगावाट)को विद्युत भारतमा बिक्री गर्न अनुमति पाएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।
उनका अनुसार यो संगै अब नेपालले भारतीय प्रतिस्पर्धी बजारमा १० वटा जलविद्युत आयोजनाको विद्युत बिक्रीका लागि अनुमति पाएको छ। जसको कुल क्षमता ४५२.६ मेगावाट हुनेछ। अर्थात आगामी बर्खामा प्राधिकरणले ४५२.६ मेगावाट विद्युत भारतीय बजारमा बिक्री गर्नेछ।
अधिकांश जलविद्युत आयोजना नदी प्रवाहमा आधारित भएका कारण हिउदमा आयात गर्नुपर्ने र बर्खामा सरप्लस हुने अवस्था छ। गर्मीका कारण बर्खामा भारतमा विद्युतको माग बढ्छ। सोही कारण प्राधिकरणले भारतीय बजारमा राम्रो मुल्य पाउने गरेको बताइएको छ।
नेपालको विद्युत इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे-अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री हुन्छ। आइएक्समा विद्युत खरीद बिक्रीका लागि २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्लकमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ। त्यसैले हरेक ब्लकको मूल्य फरक/फरक हुने गरेको छ।
प्राधिकरणले आन्तरिक खपत भएर सरप्लस हुने भएपछि गत १९ जेठबाट प्रतिस्पर्धी बजारमा बिक्री सुरु गरेको थियो। सुरुमा दुईवटा विद्युतगृहको ३९ मेगावाट उत्पादित विद्युतलाई स्रोत मानेर दैनिक रुपमा आइएक्समा बिक्री गरिएको थियो। त्यसपछि २७ जेठबाट दैनिक रुपमा ६ वटा जलविद्युत गृहबाट उत्पादित विद्युतलाई स्रोत मानेर दैनिक रुपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै थियो।
गत १८ र ३० कात्तिकबाट क्रमश: चिलिमे र सोलुखोलाको विद्युत निर्यात सुरु भएसँगै भारतर्फ निर्यात हुने विद्युतको स्वीकृति क्षमता ४०९ मेगावाट पुगेको थियो। थप दुई आयोजनाको अनुमति पाएसँगै ४५२ मेगावाट विद्युत निर्यात हुने भएको छ।
विद्युत प्राधिकरणले यो वर्षमा प्रणालीमा ३००० मेगावाट विद्युत पुग्ने प्रक्षेपण गरेको छ। नेपालको आन्तरिक खपत १५/१६ सय मेगावाट आसपास मात्रै छ। तत्कालै खपत बढाउन सक्ने कुनै सम्भावना छैन। जसका कारण भारतमा बेच्नै पर्ने बाध्यता अवस्थामा छ।
प्राधिकरणले २९.०४ मेगावाटको लिँखु खोला ए, २२ मेगावाटको माईखोला, १४.९ मेगावाटको हेवाखोला ए र १० मेगावाटको तल्लो मोदी-१, ४२ मेगावाटको मिस्त्रीखोला, २४.२ मेगावाटको लिखुखोला ‘ए’ लगायतका आयोजनाबाट उत्पादित विद्युत निर्यातको प्रस्ताव स्वीकृतिका लागि भारतको केन्द्रीय विद्युत प्राधिकरणसमक्ष पेश गरेको छ। ती आयोजना समेत स्वीकृत हुने चरणमा रहेको बताइएको छ।
अहिलेसम्म त्रिशुली जलविद्युत आयोजना (२३.२),देवीघाट (१४.५ ),कालीगण्डकी ‘ए’ (१४० मेगावाट), मध्य मर्स्याङदी (१६८ मेगावाट), मर्स्याङदी (६७ मेगावाट), लिखु-४ (५१ मेगावाट), काबेली बी-१ (२४.२५ मेगावाट),तल्लो मोदी (२४.२५ मेगावाट),सोलुखोला (२३.५ मेगावाट) लगायतको निर्यातको अनुमति पाएका छन्।
प्राधिकरणले पुस ३ गतेसम्म ११ अर्ब १६ करोड ३० लाख रुपैयाँको विद्युत भारततर्फ निर्यात गरेको छ। अहिले नदीमा पानीको बहाव घटेका कारण निर्यात रोकिएको छ। स्थानीय माग धान्नका लागि भारतबाट आयात भइरहेको छ। प्राधिकरणले हिउँदमा आयात गर्छ भने बर्खामा निर्यात गर्छ। चालु वर्ष आयातभन्दा निर्यात बढी गर्ने लक्ष्य राखिएको घिसिङले बताए।
