काठमाडौं: नेपाल विद्युत् प्राधिकरणले केन्द्रीय कारागार, सुन्धाराको विद्युत् लाइन काटिदिएको छ ।
लामो समयदेखि तिर्नुपर्ने बक्यौता नतिरेको भन्दै मंगलबार प्राधिकरणका कर्मचारीले विजुलीको लाइन काटिदिएका हुन् ।
कारागारका सूचना अधिकारी मित्रलाल लुइँटेलका अनुसार, कारागारजस्तो संवेदनशील ठाउँ विजुली कटौती हुँदा राति कुनै घटना भए समस्या हुने स्थिति सिर्जना भएको छ ।
‘राति कैदीबन्दीले कुटाकुट गरे, भागे वा अरु समस्या भयो भने परिस्थिति नियन्त्रणमा लिनै असहज हुने स्थिति हुने भयो’, उनले भने, ‘कारागारजस्तो ठाउँमा विजुली काट्दा समन्वय गर्नुपर्नेमा प्राधिकरणले पनि गरेन ।’
स्रोतका अनुसार, केन्द्रीय कारागारको नाममा डेढ करोड रुपैयाँ वक्यौता थियो । ‘१५ दिनजति अघि ३७ लाख रुपैयाँ तिरेका पनि थियौं, त्योभन्दा धेरै तिर्नलाई बजेट पनि थिएन’, लुइँटेलले भने, ‘यस्तोमा प्राधिकरणले संवेदनशीलता नदेखाउँदा समस्या भएको छ ।’
केन्द्रीय कारागारको सबै ब्लकमा गरेर अहिले ३५ सय भन्दा बढी कैदीबन्दी छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणदेखि सुनकाण्डका कैदी चुडामणि उप्रेती ‘गोरे’ पनि केन्द्रीय कारागारमै छन् ।
