१७ असोज, काठमाडौं । शनिबार दिउँसोदेखि शुरु हुने भारी वर्षाले प्रभावित क्षेत्रमा बाढीपहिरोको उच्च जोखिम हुनसक्ने भन्दै मौसमविद्हरुले जोखिमयुक्त ठाउँहरुमा राजमार्ग बन्द गरिदिनु नै उपयुक्त हुने सुझाव दिएका छन् ।
सामान्य झरीका बेलामा पनि बाढी र पहिरोको जोखिममा रहेका क्षेत्रहरुमा नै भारी वर्षाको सम्भावना देखिएको भन्दै उनीहरुले जनहितका लागि पूर्वतयारी स्वरुप राजमार्ग बन्द नै गर्नु उचित हुने सुझाव दिएका हुन् ।
मौसमविद्हरुका अनुसार, दशैंको दिन (हिजो) देखि नै सामान्य झरी परेको थियो भने विहीबार अपराह्नदेखि काठमाडौं लगायतका ठाउँमा पानी पर्ने सम्भावना छ । भारतको उडिसा नजिकैबाट विकसित भएको प्रणाली बिहार हुँदै शनिबार बिहानदेखि नेपाल भित्रिनेछ, जसले केही ठाउँमा भारी वर्षा गराउने अनुमान छ ।
भारतको मौसम विज्ञान विभागले आजदेखि नै बिहार क्षेत्रमा अति भारी वर्षाको जोखिममा रहेको भनी अलर्ट जारी गरेको छ । त्यहाँ विकसित भएको प्रणाली वीरगञ्ज आसपासको क्षेत्र हुँदै शनिबार दिनभरमा नेपाल भित्रिने मौसमविद्हरु बताउँछन् ।
शनिबारदेखि नै वीरगञ्ज आसपासदेखि जनकपुरसम्मको क्षेत्रमा भारी वर्षाको सम्भावना छ भने मधेशभर नै पानी पर्नेछ ।
पश्चिममा बुटवल/भैरहवादेखि चितवन, काठमाडौं, मकवानपुर, हेटौंडा हुँदै पानी पार्ने प्रणालीले गोरखा र तनहुँसम्म प्रभावित पार्ने आँकलन छ ।
जोखिमयुक्त राजमार्ग मात्रै होइन, अति भारी वर्षाका बेला काठमाडौं उपत्यकाकै आवतजावत नियन्त्रित हुनुपर्ने विज्ञहरु बताउँछन् ।
यो प्रणाली काभ्रे, रामेछाप, महोत्तरी लगायतका ठाउँमा शनिबार र आइतबारसम्म सक्रिय हुँदै पूर्वी नेपालबाट बाहिरिने छ । देशभरको मौसममा क्रमिक सुधार हुन सोमबार बिहानसम्म लाग्ने मौसमविद्हरुको आँकलन छ ।
