काठमाडौं: नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा २५ करोडको सीमा खारेज गरेको छ। अर्थमन्त्री रामेश्वर खनालले गठन गरेको पूँजी बजार सुधार सुझाव कार्यदलले दिएको सुझाव कार्यान्वन गर्दै राष्ट्र बैंकले निर्देशन जारी गरेको हो ।
राष्ट्र बैंकले संस्थागत लगानीकर्तालाई यसअघि नै उक्त सीमा खारेज गरेकोमा बुधबार व्यक्तिगत लगानीकर्ताका लागि उक्त सीमा खारेज गरेको हो ।
अब सेयर धितो कर्जामा कुनै पनि सीमा नलाग्ने भएको छ । राष्ट्र बैंकले सेयर धितो कर्जामा एक बैंकबाट ४ करोड र सबै बैंकबाट १२ करोडको कर्जा सीमा तोकेर पछि त्यसमा संशोधन गर्दै एकै बैंकबाट १२ करोड लिन सक्ने व्यवस्था पनि गरेको थियो । पछि संस्थागतको सीमा बढाउँदै खारेज गरेको थियो भने व्यक्तिगतर्फ २५ करोडको सीमा राखेकोमा बुधबार त्यसलाई पनि खारेज गरेको छ ।
यस्तै जसले बैंकहरूसँग अधिक तरलता भएको अवस्थामा पनि सेयर कारोबार गर्न पाएका थिएनन् । बैंकले सेयर खरिद गरेको एक वर्ष व्यतित भएका लगानी मध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको २० प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न सक्ने व्यवस्था रहेकोमा यसलाई हटाइएको छ ।
सूचीकृत भइसकेको संगठित संस्थाको सेयर तथा डिबेञ्चरमा ६ महिनाभन्दा बढी अवधिको लागि बैंकले लगानी गर्न पाउने छन् । यसअघि १ वर्षभन्दा बढी अवधिको लागि मात्रै लगानी गर्न पाउने व्यवस्था थियो । तर, अब भने ६ महिना वा सो भन्दा बढी अवधि होल्ड गर्ने गरी बैंकहरूले पनि सेयर ट्रेडिङ गर्न पाउने भएका छन् ।
