काठमाडौँ: केही दिनदेखि लगातार परिरहेको वर्षाका कारण जोमसोम–कागबेनी सडकखण्डमा पहिरोसँगै सडक भासिएर अवरुद्ध भएकाे छ।
वर्षाका कारण जोमसोम–कागबेनी सडकखण्डको पिचरोड भासिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालले जानकारी दिए। जोमसोम बसपार्कदेखि एक किलोमिटरको दूरीमा सडक भासिएर भत्किएको र सोही स्थानमा माथिबाट लेदोसमेत आइरहेको उनले बताए।
उनका अनुसार सोही सडकखण्डमा पर्ने पाण्डाखोलामा समेत पहिरो गएको छ। माथिबाट लेदोसहितको पहिरो आइरहेकाले सडक अवरुद्ध हुँदा कागबेनी, मुक्तिनाथ र माथिल्लो मुस्ताङ यात्रा गर्न नसकिने अवस्था रहेको बस्यालले बताए।
मुख्य गरी दुई स्थानमा अवरोधसँगै सडकखण्डको अन्य धेरै स्थानमा माथिबाट साना–साना ढुंगाहरू खस्ने, लेदोसहितको माटो आउने क्रम जारी रहेकाले सो खण्डमा यात्रा नगर्न प्रहरीले आग्रह गरेको छ।
माथिबाट ढुंगाहरू खस्ने र लेदो आउने क्रम जारी रहेकाले सडकखण्डमा कुनै पनि समयमा समस्या आउन सक्ने सम्भावना रहेकाले त्यस क्षेत्रमा रहेका पर्यटकलाई यथास्थानमै रहन प्रहरीले अनुरोध गरेको हो। वर्षा कम नभएसम्म सडकखण्ड यात्राका लागि असुरक्षित रहेकाले यात्रा नगर्न बस्यालले आग्रह गरेका छन्।
