काठमाडौं: नेकपा (एमाले)को महाधिवेशनको उद्घाटन सत्र भक्तपुरको सल्लाघारीमा हुने भएको छ । बुधबार बिहान बसेको महाधिवेशन आयोजक समितिको बैठकले काठमाडौंको भृकुटीमण्डपमा स्थान साघुँरो हुने भएकाले उद्घाटन सत्र भक्तपुरस्थित सल्लाघारीको चौरमा गर्ने निर्णय गरेको हो ।
“बन्दसत्रका लागि भृकुटीमण्डपमा बुकिङ गरिएको छ । उद्घाटनसत्रका लागि साघुँरो हुने भयो । त्यसैले सल्लाघारीको चौरमा गर्ने कुरा भएको छ,” एमाले कार्यालय सचिव भिष्म अधिकारीले जानकारी दिए ।
एमालेले टुडिखेलस्थित खुल्लामञ्चमा गर्ने गरी छलफल पनि गरेको थियो । काठमाडौं महानगरपालिकाले काम सम्पन्न भइनसकेको भन्दै स्थान उपलब्ध नगर्ने भएपछि एमालेले महाधिवेशनको बन्दसत्र सल्लाघारीमा गर्ने भएको हो ।
एमालेको महाधिवेशन यही मंसिर २७–२९ मा हुँदै छ ।
