सर्लाही: सरकारले उखुको समर्थन मुल्य तोक्न ढिलाई गर्दा किसान निराश बनेका छन् । मुल्य निर्धारण नहुँदा किसानले उखु काट्न पाएका छैनन् । चिनी मिल सञ्चालन गर्न ढिलाई भएको छ ।
सर्लाहीस्थित इन्दुशङ्कर चिनी उद्योगले मिल सञ्चालन गर्नुअघि गरिने डोङ्गा पूजा गरे पनि मिल सञ्चालनबारे भने अन्यौलता देखिएको छ ।
खेतको उखु काट्ने सुरसारमा रहेका किसान र मिल चलाएर उखु क्रसिङ सुरु गर्ने तयारीमा रहेका उद्योगी समर्थन मुल्य कुरेर बसेका छन् ।
सर्लाहीको बरहथवा नगरपालिका–३, हजरियाका नन्दु चौरसियाले उखुको मुल्य निर्धारण नहुँदा अन्यौलमा परिरहेको बताउनुभयो ।
सरकारले मुल्य निर्धारण गर्नासाथ उखु काट्ने तयारीमा बसेको चौरसियाले जानकारी दिनुभयो ।
चार बिघा खेतमा उखु लगाउनुभएका चौरसियाले यस वर्ष चित्त बुझ्दो मुल्य कायम नभए अर्को वर्षदेखि उखु खेती नै छाड्ने सोच बनाएको गुनासो गर्नुभएको छ । लागत अनुसार उखुको मुल्य निर्धारण हुन नसकेको गुनासो किसानले गर्दै आइरहेका छन् ।
उखु किसानको छाता सङ्गठन नेपाल उखु उत्पादक महासङ्घले चालु क्रसिङ सिजन २०८२÷८३ मा उखुको समर्थन मुल्य प्रतिक्विन्टल ७५० रुपियाँ कायम गर्न माग गर्दै सरकारलाई ज्ञापन पत्र बुझाइसकेको छ । रौतहटको गढिमाई नगरपालिका–६, का नरेन्द्रप्रसाद यादवले यसअघि मङ्सिर मध्यसम्म उखु काटेर चिनी मिलमा बुझाइसक्ने गरेको भए पनि पछिल्ला वर्षमा उखुको मुल्य तोक्न नै ढिलाइ हुँदा किसान मारमा परिरहेका बताउनुभयो ।
यस बेलासम्म उखु हटाएर मुसुरो, गहुँलगायतका बाली लगाउने समय भइसके पनि मुल्य तय नहुँदा उखु नै काट्न नपाएको गुनासो गर्नुभयो । नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष श्यामबाबु रायले कृषि मन्त्री, कृषि सचिवले उखुको मुल्य निर्धारण गर्न मङ्सिर २९ गतेसम्मको समय माग गरेको जानकारी दिनुभयो ।
यो हिसाबले पुस लागेपछि मात्रै चिनी मिल सञ्चालन हुने अवस्था रहेको छ । कृषि मन्त्री, कृषि सचिवलगायतले गत वर्षको बाँकी ३५ रुपियाँ अनुदान रकम भुक्तानी गर्ने र यो वर्ष मुल्य निर्धारण गर्दा किसानको लागतलाई ध्यान दिने आश्वास दिएकाले आफूहरु किसानकै माग अनुसार मुल्य तय हुनेमा आशावादी रहेको महासङ्घका अध्यक्ष रायको भनाइ छ ।
इन्दुशङ्कर चिनी उद्योग हरिवनका उद्योगपति राजेश केडियाले उखुको मुल्य निर्धारण गर्दा कम रिकोभरी आउने अर्थात् चिनी उत्पादन कम हुने ‘रिजेक्टेड भेराइटी’ र प्रशस्त रिकोभरी आउने उन्नत जातको उखुको बेग्लाबेग्लै मुल्य तोकिदिन सरकारसँग माग गरिएको बताउनुभयो । सबै जातको उखुको सालाखाला मुल्य तोकिदिँदा चिनी मिल मारमा परेको उद्योगपति केडियाको गुनासो छ ।
चिनी उत्पादन बापत राज्यलाई भ्याट बुझाउने चिनी मिलहरुको पिरमर्कासमेत बुझिदिन सरकारसँग स्पष्ट कुरा राखिएको केडियाले बताउनुभयो ।
