काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले शान्ति, स्थायित्व र समृद्धिका लागि निजी क्षेत्रको संरक्षण र मनोबल उच्च राख्नु अनिवार्य भएको बताएका छन्।
शान्ति स्थायित्व र समृद्धिका लागि सहकार्य विषयक सामूहिक पहल कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले निजी क्षेत्र सुरक्षित र सम्मानित नभएसम्म मुलुकमा लगानी, रोजगारी र आर्थिक वृद्धि सम्भव नहुने स्पष्ट पारे।
अध्यक्ष ढकालले गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि निजी क्षेत्रमाथि भएको आगजनी, तोडफोड र लुटपाटप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता घटनामा संलग्न व्यक्तिमाथि कडा कारबाहीको माग गरे। महासंघको अध्ययन अनुसार उक्त आन्दोलनका क्रममा करिब ४० अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष भौतिक क्षति र झण्डै ८१ अर्ब रुपैयाँ बराबरको आर्थिक नोक्सानी निजी क्षेत्रले बेहोरेको जानकारी उनले दिए।
उनले निजी क्षेत्रले अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान दिइरहेको उल्लेख गर्दै लगानीको वातावरण नबनेका कारण बैंकमा करिब ११ खर्ब रुपैयाँ लगानीयोग्य रकम थन्किएको बताए। “निजी क्षेत्र ढुक्क भएर लगानी गर्न नसक्दा रोजगारी सृजना हुन सकेको छैन, युवाहरू विदेशिन बाध्य छन्,” अध्यक्ष ढकालको भनाइ थियो।
अध्यक्ष ढकालले सरकारसँग निजी क्षेत्र संरक्षण एवं प्रवर्द्धन रणनीति मन्त्रीपरिषद्बाट पारित गरी तत्काल कार्यान्वयनमा ल्याउन आग्रह गरे। सो रणनीतिअन्तर्गत उद्योग, कलकारखाना, प्रतिष्ठान र निजी सम्पत्तिलाई बन्द–हडताल, आगजनी र तोडफोडबाट सुरक्षित राख्न निषेधित क्षेत्र घोषणा गर्नुपर्ने, द्रुत सुरक्षा सेवा, हटलाइन तथा विशेष सुरक्षा दस्ता गठन गर्नुपर्ने माग गरे।
निर्वाचनलाई लोकतन्त्र संस्थागत गर्ने प्रमुख माध्यमको रूपमा उल्लेख गर्दै उनले समयमै निर्वाचन सम्पन्न गर्न सरकार र राजनीतिक दलहरूको अग्रसरताको प्रशंसा गरे। “निर्वाचनमार्फत स्थायित्व कायम गर्न सकिएन भने समृद्धि सम्भव छैन,” उनले चेतावनी दिए।
युवा पुस्ताप्रति सम्बोधन गर्दै अध्यक्ष ढकालले भ्रष्टाचारमुक्त समाज र सुशासनका लागि उठेको आवाज सकारात्मक भएको बताउँदै त्यसको मर्मअनुसार निजी क्षेत्रसँग सहकार्य गर्दै युवा उद्यमशीलता विकासमा लाग्न आग्रह गरे। साथै सञ्चारमाध्यमलाई जिम्मेवार र सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्न अनुरोध गर्दै गलत सूचना र भ्रामक समाचारले देशको अर्थतन्त्र, लगानी र रोजगारीमा गम्भीर असर पार्ने बताए।
कार्यक्रममा अध्यक्ष ढकालले स्वदेशी पुँजी परिचालनमार्फत ठूला पूर्वाधार र स्टार्टअपमा लगानी गरी देशभित्रै ठूलो मात्रामा रोजगारी सृजना गर्ने लक्ष्य रहेको बताए।
“निजी क्षेत्र समृद्धिको सारथी हो,” अध्यक्ष ढकालले भने, “विश्वले स्वीकार गरेको सत्य हो— प्राइभेट सेक्टर पावर्स द नेशन।”
उनले अन्त्यमा निजी क्षेत्रलाई सम्मानित र सुरक्षित वातावरण प्रदान गर्न सबै पक्षको साझा प्रतिबद्धता आवश्यक रहेको उल्लेख गरे ।
