काठमाडौँ: चालु आर्थिक वर्षको पहिलो सात महिनामा वैदेशिक लगानी प्रतिवद्धता ४० अर्ब बढी भएको छ । उद्योग विभागको तथ्यांकअनुसार साउनदेखि माघमसान्तसम्म ५२४ वटा उद्योगमा ४० अर्ब २८ करोड ३३ लाख ८० हजार रुपैयाँ लगानी प्रतिवद्धता आएको हो ।
गत आर्थिक वर्षको सात महिनामा ३८६ उद्योगमा २६ अर्ब ८४ करोड १७ लाख रुपैयाँ बराबरको विदेशी लगानी प्रतिवद्धता प्राप्त भएको थियो । गत आवको ७ महिनामा ३७५ साना, ७ मध्यम र ४ ठूला उद्योगका लागि विदेशी लगानी प्रतिबद्धता आएको थियो । चालु आर्थिक वर्षको ७ महिनामा ८ ओटा ठूला, ८ वटा मध्यम र ५०७ वटा साना उद्योगमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता प्राप्त भएको छ ।
विभागकाअनुसार गत माघमा मात्र ४९ वटा उद्योगमा लगानी प्रतिवद्धता आएको छ । जसमा १ ठूला उद्योग र ४८ वटा साना उद्योग हो । चालु आर्थिक वर्षको पछिल्लो महिनाहरुमा उद्योगमा लगानी प्रतिवद्धता बढेको तथ्यांकले देखाएको छ ।
चालु आर्थिक वर्षको ७ महिनामा सूचना प्रविधिमूलक क्षेत्रका सबैभन्दा बढी लगानीको प्रतिवद्धता आएको छ । गत साउनदेखि माघ महिनासम्म भित्रिएको प्रत्यक्ष वैदेशिक लगानीको तथ्यांक हेर्दा सबैभन्दा बढी सूचना प्रविधिमूलक क्षेत्रका २८८ वटा उद्योगका लागि लगानी प्रतिवद्धता आएको छ ।
रकमका आधारमा भने कृषिमूलक क्षेत्रका १४ उद्योगमा सबैभन्दा धेरै २१ अर्ब ९० करोड ८० लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । उत्पादनमूलक क्षेत्रका ३५ उद्योगमा २ अर्ब ४० करोड ६६ लाख रुपैयाँ, पर्यटनमूलक क्षेत्रका १५० उद्योगमा १० अर्ब ८६ करोड २० लाख रुपैयाँ र सेवामूलक क्षेत्रका ३४ उद्योगमा ३ अर्ब ५४ करोड ८० लाख रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।
