काठमाडौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई ‘गरिखाने मान्छेहरूको देश’को रूपमा चिनाउनेगरी अर्थतन्त्रको विकास गर्ने लक्ष्य रहेको बताएका छन् ।
मङ्गलबार नेपाल चेम्बर अफ कमर्शका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूसँगको भेटघाटका क्रममा उनले देश बनाउने दृढ सङ्कल्पका साथ सरकार अघि बढेको र अर्थतन्त्रलाई मजबुत बनाउन निजी क्षेत्रसँगको सहकार्य अनिवार्य रहेको उल्लेख गरे।
भेटका क्रममा अर्थमन्त्री वाग्लेले राज्यले उद्योगी र व्यवसायीहरूलाई स्वतन्त्र रूपमा फस्टाउने वातावरण र आवश्यक सुविधा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। ‘तपाईंहरूलाई उड्ने र फैलने सुविधा राज्यले दिन्छ, हामी देश बनाउने हुटहुटी बोकेर आएका छौँ,’ उनले भने, ‘अर्थतन्त्र बलियो बनाउन आउनुस् हातेमालो गरौँ।’ उनले इमानदार उद्योगीहरू कानुनका छिद्रका कारण बदनाम हुने वा राज्यका निकायबाट अनावश्यक दुःख र हैरानी पाउने अवस्था आउन नदिने भन्दै त्यसको पूर्ण ग्यारेन्टी आफूले लिने बताए।
।
उद्योग र अर्थतन्त्रको विकासका लागि राज्यले गर्नुपर्ने सबै काम गर्न सरकार तयार रहेको उल्लेख गर्दै डा। वाग्लेले निजी क्षेत्रबाट पनि पूर्ण इमानदारिताको अपेक्षा राखेका छन्।
उनले भने, ‘निजी क्षेत्र इमानदार भइदिनुस्, राज्यले दिलोज्यान दिएर तपाईंहरूलाई सहयोग गर्छ। तर, नियोजित र प्रायोजित गल्ती तथा बेइमानीमा भने सरकार निर्मम हुनेछ।’ उनले मुलुकको सर्वाङ्गीण विकासका लागि सबै पक्षलाई एक ठाउँमा उभिन समेत आह्वान गरे।
यस्तै, नेपाल कम विकसित मुलुक (एलडीसी) बाट स्तरोन्नति हुने विषयमा निजी क्षेत्रमा देखिएको चिन्तालाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले यो प्रक्रिया तत्कालै नहुनेमा आश्वस्त पारे। निजी क्षेत्रको पीर र चासोलाई आफूले बुझेको उल्लेख गर्दै उनले व्यवसायीहरूलाई ढुक्क भएर लगानी र उद्यममा केन्द्रित हुन आग्रह गरे।
