काठमाडौं: बाढीका कारण प्रभावित रसुवास्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूको सुरक्षित उद्धारका लागि सरकारले विशेष संयन्त्र परिचालन गरी उद्धार प्रयासलाई तीव्रता दिएको छ।
अत्यन्त जोखिमपूर्ण तथा प्राविधिक रूपमा जटिल मानिएको उद्धार कार्यलाई प्रभावकारी बनाउन सरकारको अनुमतिमा उच्च प्राविधिक दक्षता भएका छ सदस्यीय चिनियाँ विज्ञ टोली घटनास्थलमा परिचालन गरिएको हो।
चिनियाँ हेलिकप्टरमार्फत त्रिशूली क्षेत्रमा पुगेको उक्त टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग समन्वय र सहकार्य गर्दै सुरुङभित्रको अवस्थाबारे प्राविधिक रेकी गर्नेछ। टोलीले सुरुङको भौतिक अवस्था, सम्भावित जोखिम तथा उद्धारको सम्भावनाबारे प्रारम्भिक प्राविधिक मूल्यांकन गर्नेछ।
प्रारम्भिक अध्ययनका आधारमा उद्धार सम्भव देखिएमा रसुवा सीमा क्षेत्रमा ‘स्ट्यान्डबाई’ अवस्थामा रहेका थप चिनियाँ प्राविधिक विज्ञलाई समेत तत्काल घटनास्थलमा परिचालन गर्ने तयारी गरिएको छ।
सुरुङभित्रको अवस्था चुनौतीपूर्ण र जोखिमपूर्ण रहे पनि सरकार, नेपाली सेना तथा चिनियाँ प्राविधिक विज्ञहरूको संयुक्त प्रयासमा फसेका व्यक्तिहरूको सकुशल उद्धारलाई उच्च प्राथमिकता दिइएको छ।
उद्धार कार्यका लागि उपलब्ध सम्भावित प्राविधिक तथा मानवीय स्रोत परिचालन गरी निरन्तर प्रयास भइरहेको सरकारले जनाएको छ।
