काठमाडौँ: नेपाल आयल निगमले रसुवाको भोटेकोशी बाढीपछि जारी खोज तथा उद्धार कार्यमा खटिएका हेलिकप्टरका लागि हालसम्म ४० हजार ८४० लिटर हवाई इन्धन उपलब्ध गराएको छ।
निगमका अनुसार नेपाली सेनासँगको समन्वयमा नुवाकोटस्थित नेपाली सेनाको ब्यारेकबाट हेलिकप्टरमा इन्धन भर्ने (रिफ्युलिङ) व्यवस्था मिलाइएको छ। भदौ १० गते १२ हजार लिटर, भदौ ११ गते ट्यांकरमार्फत ९ हजार र हेलिकप्टरमार्फत १ हजार ८४० लिटर, भदौ १२ गते ९ हजार लिटर तथा भदौ १३ गते थप ९ हजार लिटर हवाई इन्धन पठाइएको हो। रिफ्युलिङ सेवा नियमित रूपमा सञ्चालन भइरहेको निगमले जनाएको छ।
उद्धार कार्यलाई सहज बनाउन निगमको थानकोटस्थित बागमती प्रादेशिक कार्यालयमार्फत बाढी प्रभावित क्षेत्रमा सञ्चालनमा रहेका पेट्रोल पम्पहरूलाई पनि इन्धन उपलब्ध गराइएको छ। भदौ १३ गतेसम्म पेट्रोल ७२ हजार लिटर र डिजेल ६२ हजार लिटर उपलब्ध गराइएको निगमले जनाएको छ।
उद्धार तथा राहत कार्यमा आवश्यक इन्धनको अभाव हुन नदिन मागअनुसार सार्वजनिक बिदाका दिनमा समेत पेट्रोल र डिजेलको बिक्री–वितरणको व्यवस्था मिलाइएको निगमले जनाएको छ।
त्यस्तै, उद्धार गरी बाढी प्रभावित क्षेत्रका विभिन्न स्थानमा रहेका सेल्टरमा राखिएका प्रभावित व्यक्तिका लागि आवश्यक एलपी ग्याससमेत उपलब्ध गराइएको छ। निगमको समन्वयमा नेपाल ग्यास उद्योग प्रालि, बालाजुले भदौ १० गते नुवाकोटका लागि २३२ थान भरिएका ग्यास सिलिन्डर उपलब्ध गराएको थियो।
यसैगरी, एलपी ग्यास उद्योग संघ नेपालले भदौ १० र १३ गते नुवाकोट तथा रसुवा जिल्लाका लागि थप १५० थान भरिएका ग्यास सिलिन्डर राहत कार्यका लागि उपलब्ध गराएको निगमले जनाएको छ।
निगमले बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यमा आवश्यक पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति सहज बनाउन निरन्तर समन्वय गरिरहेको जनाएको छ।
