काठमाडौं, भदौ १४: नेपाल टेलिकमले बाढी प्रभावित थप सात क्षेत्रमा आजदेखि दूरसञ्चार सेवा सुचारु गरेको छ। यससँगै बाढी तथा पहिरोका कारण प्रभावित भएका कुल १२० साइटमध्ये ९३ साइट सञ्चालनमा आएका छन्।
टेलिकमका अनुसार रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनासँगै रहेको टावरबाट सेवा पुनः सञ्चालन गरिएको छ। उक्त टावर सञ्चालनमा आएसँगै जलविद्युत् आयोजनाको सुरुङ मार्गमा भइरहेको खोज तथा उद्धार कार्यका लागि आवश्यक सञ्चार सम्पर्क सहज भएको छ। टावर सञ्चालनका लागि आवश्यक सामग्री सवारीसाधन तथा भरियामार्फत ढुवानी गरिएको थियो।
त्यसैगरी, रसुवाको उत्तरगया गाउँपालिका–स्थित कालिकास्थानको टावरबाट पनि सेवा सुचारु भएको छ। नुवाकोट जिल्लाका तुप्चे र बुङताङ बीटीएस पनि आजैदेखि सञ्चालनमा आएका छन्। ती टावर सञ्चालनका लागि आवश्यक जेनेरेटर तथा इन्धन हेलिकप्टरमार्फत ढुवानी गरिएको नेपाल टेलिकमले जनाएको छ।
यसैगरी कटुन्जे, सामरी भञ्ज्याङ र बेतिनीका टावरसमेत सञ्चालनमा आएका छन्।
सेवा पुनः सञ्चालनको कामलाई थप प्रभावकारी बनाउन तथा फिल्डमा खटिएका प्राविधिक कर्मचारीको मनोबल उच्च राख्न नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) स्वयं नुवाकोटलगायत बाढी प्रभावित क्षेत्रमा पुग्नुभएको छ।
यसअघि उहाँले नेपाल टेलिकमको बबरमहलस्थित विपद् व्यवस्थापन कक्षमा आयोजित बैठकमा सहभागी भई सेवा पुनः सञ्चालनको अवस्थाबारे जानकारी लिनुका साथै आवश्यक निर्देशन दिनुभएको थियो।
यसै क्रममा प्रबन्ध निर्देशक पहाडीले अर्थमन्त्री, सूचना तथा सञ्चारमन्त्री, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष तथा सुरक्षा निकायका प्रतिनिधिसहितको उपस्थितिमा नेपाल टेलिकमले गरिरहेको सेवा पुनः सञ्चालनसम्बन्धी कार्यको विवरण प्रस्तुत गर्नुभएको थियो।
विपद्को यस कठिन अवस्थामा सेवा पुनः सञ्चालनसँगै प्रभावित सेवाग्राहीलाई आफन्तजनसँग सञ्चार सम्पर्क कायम गर्न सहयोग पुग्ने नेपाल टेलिकमले विश्वास व्यक्त गरेको छ।
