काठमाडौं, मंसिर ८ । सुनकोसी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द गर्ने निर्णयले मधेसमा आन्दोलनको अवस्था सिर्जना हुन सक्ने चेतावनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले दिएका छन्। उनले आयोजना रद्द गर्ने नभई निर्धारित योजनाअनुसार सम्पन्न गर्न सरकारसँग स्पष्ट कार्ययोजना माग गरेका छन्।
सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद झाले सुनकोसी–मरिण डाइभर्सन आयोजना मधेसका पाँच जिल्लाका किसान र कृषि क्षेत्रको भविष्यसँग जोडिएको विषय भएको बताए।
उनका अनुसार आयोजनाको १३.३ किलोमिटर लामो सुरुङको ब्रेकथ्रु सन् २०२४ मे महिनामै सम्पन्न भइसकेको छ। तर, बाँधलगायतका संरचना निर्माणको काम अघि बढ्न नसक्नु गम्भीर विषय भएको उनको भनाइ छ।
‘यो आयोजना रद्द भयो भने मधेस आन्दोलित हुनेबाहेक अर्को कुनै विकल्प हुँदैन,’ झाले चेतावनी दिँदै भने।
उनले आयोजना सम्पन्न भए करिब एक लाख ८० हजार बिघा जमिनमा सिँचाइ सुविधा पुग्ने अपेक्षा गरिएको उल्लेख गर्दै निर्माणमा भएको ढिलाइले किसानले गुमाएको अवसरको हिसाब सरकारले गर्नुपर्ने माग गरे।
सिँचाइ अभावका कारण कति खेती प्रभावित भयो, कति कृषि उत्पादन गुम्यो र किसानले कति आर्थिक क्षति बेहोर्नुपर्यो भन्ने विषयमा सरकारले मूल्यांकन गर्नुपर्ने उनको भनाइ थियो।
यसैबीच, सुनकोसी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द गरिएको विषयमा सार्वजनिक लेखा समितिले सम्बन्धित निकायसँग सात दिनभित्र आवश्यक कागजात उपलब्ध गराउन निर्देशन दिएको छ।
बोलपत्र प्रक्रियाका सबै चरण पूरा भई आर्थिक प्रस्ताव खोल्ने अवस्थामा पुगेपछि अन्तिम समयमा ठेक्का रद्द गरिएको भन्दै समितिमा उजुरी परेको थियो। ठेक्का रद्द गर्दा राज्यलाई आर्थिक क्षति पुग्नुका साथै आयोजना निर्माणमा थप ढिलाइ हुने दाबी उजुरीमा गरिएको छ।
जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरियासहितका अधिकारीसँग छलफल गरेपछि समितिले कागजात माग्ने निर्णय गरेको हो।
आयोजनाको निर्माणमा भएको ढिलाइ, ठेक्का रद्द गर्नुको कारण र यसबाट किसान तथा कृषि क्षेत्रमा पर्ने असरबारे अब सरकारसँग जवाफ मागिएको छ। मधेसका पाँच जिल्लाको सिँचाइसँग जोडिएको आयोजनाको भविष्यबारे सरकारको आगामी निर्णय महत्त्वपूर्ण हुने देखिएको छ।

