काठमाडौँ : पछिल्लो केहि दिनदेखि अमेरिकी डलरसँग नेपाली रुपैयाँ कमजोर बन्दै गएको छ । नेपाल राष्टबैंकले मंगलबारका लागि जारी गरेको डलरको खरीद तथा बिक्री दर हालसम्मकै उच्च बनी नयाँ किर्तिमान कायम भएको हो ।
केन्द्रीय बैंकले मंगलबारका लागि प्रति अमेरिकन डलरको बिक्री दर ११०.३७ रुपैयाँ र खरीद दर १०९.४४ रुपैयाँ र बिक्री दर ११०.०४ रुपैयाँ तोकेको थियो ।
तर आज केन्द्रीय बैंकले बुधबारका लागि प्रति अमेरिकन डलरको बिक्री दर ११०.०३ रुपैयाँ तोकेको छ जुन मंगलबारको तुलनामा ३५ पैसाले कमि हो ।
अमेरिकी अर्थतन्त्र सवल हुँदैै गएपछि डलरको मूल्य आकाशिएको नेपाल राष्ट्र बैंकका प्रबक्ता नारायण पौडेलले बताए ।
डलरको मूल्य घटबढ हुँदा भारतीय मुद्राको दर समेत प्रभावित हुन्छ र त्यसले नेपाली रुपैयाँको विनिमयमा सोझै असर गर्छ । कारण नेपाली रुपैयाँको भारती रुपैयाँ(भारु)सँग विगत १४ वर्षदेखि स्थिर विनिमय दर रहेको छ ।
अमेरिकी डलरसँग भारतीय मुद्रा अवमूल्यन भएलगत्तै त्यसको असर नेपाली रुपैयाँमा पनि परेको हो । सोमबार भारतीय मुद्राको अमेरिकन डलरसँगको विनिमय दर पछिल्लो ३० महिनाकै सबैभन्दा धेरै अवमूल्यन भई ६८.६० पैसा कायम भएको थियो ।
नेपालको अर्थतन्त्र आयातमा आधारित भएकाले डलरको मूल्य बढ्दा तेस्रो मुलुकबाट डलर तिरेर गर्नुपर्ने आयातबाट अर्थतन्त्रलाई नोक्सानी हुन्छ ।
अर्थाशात्री दिल्ली राज खनालका अनुसार अमेरिकामा डलरको माग बढी हुँदा बिकशित मुलकबाट डलर अमेरिकामा जाँदा डलर मजबुत हुन गएको हो ।
अमेरिकामा ब्याजदर बढी हुँदा लगानीकर्ताहरु अमेरिकामा लगानी गर्न आकर्षित हुन गई अमेरिकामा डलर प्रबाह हुन गएको उनले बताए ।
अमेरिकामा बजेटरि घाटा बढी हुँदै जाँदा लगानी बढाउनु पर्ने हुँदा डलरको माग बढीरहेको छ जसलेगर्दा डलर मजबुत भएको छ जुन आउने दिनमा अझै बढ्दै जाने संकेत देखिएको खनालले बताए ।