काठमाडौं: शुभम् पावर लिमिटेडले जारी गरेको दुई लाख कित्ता साधारण सेयर (आइपिओ) मा आवेदन दिने आइतबार अन्तिम रहेको छ ।
लिमिटेडले जेठ २० गतेदेखि संखुवासभा जिल्लाका आयोजना प्रभावित बासिन्दाका लागि १०० रुपैयाँ दरको दुई लाख कित्ता आइपीओ बिक्री खुला गरेको थियो । यसको बिक्री प्रबन्धकमा सीबीआइएल क्यापिटल रहेको छ ।
स्थानीयले न्यूनतम ५० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन पाउनेछन् । आवेदकले शुभम् पावर लिमिटेड चैनपुर संखुवासभा, एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था तुम्लिङटार र मामलिङ शाखाबाट सेयर भर्न सक्नेछन् । यसैगरी, प्राइम बैंकको खाँदबारी र तुम्लिङटार शाखाबाट पनि आवेदन दिन पाइनेछ ।
एभरेष्ट बैंक र सेन्चुरी बैंकको खाँदबारी शाखाबाट पनि सेयर भर्न सकिन्छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि जारी पुँजीको १०% आइपीओ निष्कासन गरेको हो । शुभमले हाल ९९० किलोवाटको पिलुवाखोला जलविद्युत आयोजना सम्पन्न गरी २०६८ साउन १ गतेदेखि बिजुली उत्पादन गरिरहेको छ ।