काठमाडौँ: सरकारले ठूला चाडपर्वका लागि सहुलियत पसल आजबाट सञ्चालनमा ल्याउँदैछ ।
सहुलियत पसलमा नुन, चामल, चीनी, गेडागुडीदेखि मासुसमेत छुट मूल्यमा पाइने छ । सुपथ मूल्य पसलमा मोटा चामलमा प्रतिकिलो ५ रुपैयाँ, नुनमा दुई रुपैयाँ, मसिनो चामलमा तथा गेडागुडीमा प्रतिकिलो १० रुपैयाँ तथा च्याँग्रा र खसी बोकामा प्रतिकिलो १० रुपैयाँ छुट दिईने छ ।
डीडीसी घ्यू ५० रुपैयाँ र पनिरमा प्रतिकिलो १० रुपैयाँ छुट पाइनेछ । देशभर ७३ वटा सुपथ मूल्य पसल स्थापना हुने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
वाणिज्य मन्त्रालयका अनुसार साल्ट ट्रेडिङ, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र दूग्ध विकास संस्थाले ती पसहरु सञ्चालन गर्ने छन्, जसमध्ये काठमाडौंमा ३ वटा घुम्ती पसल हुने छन् ।
साल्ट ट्रेडिङले देशभर ३५ वटा, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले २३ वटा र दुग्ध विकास संस्थानले १५ वटा सहुलियत पसल सञ्चालन गर्ने छ ।
