काठमाडौं : प्राइम लाइफ इन्सुरेन्स र सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
आज प्राइम लाइफ इन्सुरेन्सको शेयरधनी बन्नेले १२.५% बोनस सेयर पाउनेछन ।
असोज ७ गते विशेष साधारण सभा बोलाएको कम्पनीले मंगलबार (भदौ ३१ गते) बुक क्लोज गर्दैछ ।
यस इन्सुरेन्सले २२ करोड ३१ लाख ४ हजार ३७५ रुपैयाँ बरारबरको बोनस वितरण गर्नेछ ।
बोनसमा लाग्ने कर प्रयोजनका लागि १ करोड १७ लाख ४२ हजार ३३६ रुपैयाँ नगद लाभांश पनि बाँड्नेछ ।
नियामकीय प्रावधान अनुसार चुक्ता पुँजी पुर्याउन कम्पनीले हतारमा विशेष सभामार्फत लाभांश अनुमोदन गर्न खोजेको देखिन्छ ।
यो लाभांश नियामक बिमा समिति र साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।
प्राइमले आर्थिक वर्ष २०७५–७६ को लाभांश घोषणा गर्न बाँकी छ ।
सभा अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा दिउसो ३ बजे सुरु हुनेछ ।
हाल प्राइमको चुक्ता पुँजी १ अर्ब ७८ करोड ४८ लाख ३५ हजार रुपैयाँ छ ।
बोनसपछि पुँजी २ अर्ब ७९ लाख ३९ हजार ३७५ रुपैयाँ पुग्नेछ ।
प्राइमले गत आर्थिक वर्षको अन्त्यसम्ममा ३१ करोड ३० लाख ९७ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
प्रतिसेयर आम्दानी १० रुपैयाँ ५४ पैसा रहेको प्राइमको प्रतिसेयर नेटवर्थ १७६ रुपैयाँ ७० पैसा छ ।
यसैबीच सिटिजन्स बैंकको १५% लाभांश सुरक्षित गर्ने आज सोमबार (भदौ ३० गते) अन्तिम दिन हो ।
बैंकले असोज १० गते हुने सभा प्रयोजनका लागि भोली मंगलबार (भदौ ३१ गते) बुक क्लोज गर्दैछ ।
आजसम्म कायम सेयरधनीले मात्र १५% लाभांश सुरक्षित गर्नेछन् । सिटिजन्सले गत वर्षको नाफाबाट १२% नगद र ३% बोनस सेयर गरी कुल १५% दिने निर्णय गरेको छ ।
सभामा सञ्चालक समितिका अध्यक्षले पेश गर्ने वार्षिक प्रतिवेदन तथा २०७५–७६ को नाफा नोक्सान हिसाब किताब सम्बन्धमा छलफल गरी पारित गर्ने एजेन्डा पनि छ ।
सभाले २०७६–७७ को लागि लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक तोक्नेछ ।
उपयुक्त वित्तीय संस्थाहरु एक आपसमा गाभ्न–गाभिन परेमा प्रारम्भिक सम्झौताका लागि सञ्चालक समितिलाई अख्तिायारी दिने एजेन्डा पनि छ ।