काठमाडौँ: क्यासिनोमा हुने कारोबार र जुवा खेल्नेहरुमाथि सरकारले निगरानी बढाउने भएको छ । सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा क्यासिनो व्यवसायीलाई निर्देशिका जारी गर्दै सरकारले कडाइ गर्न लागेको हो ।
क्यासिनो सञ्चालकले अब कर्मचारी, ग्राहक पहिचान, जोखिम मूल्यांकन, शंकास्पद कारोबारको पहिचान सम्बन्धमा कार्यविधि नै बनाएर कार्यान्वयन गर्नुपर्ने छ ।
क्यासिनोमा ग्राहकमा रूपमा छिर्ने सबै व्यक्तिको पहिचानसम्बन्धी कानूनतः तोकिएको सबै प्रक्रिया व्यवसायीले पालना गर्नुपर्ने प्रावधान अनिवार्य गरिएको छ । यसमा पनि उच्चपदस्थ व्यक्तिको पहिचानलाई कम्पनीहरुले प्राथमिकता दिनु पर्नेछ ।
निर्देशिका अनुसार कुनै पनि ग्राहकले एक दिनमा एकैपटक वा पटक–पटक गरी १० लाख रुपैयाँभन्दा बढी क्यासिनोमा जित्यो या हार्यो भने त्यसको जानकारी व्यवसायीले नेपाल राष्ट्र बैंकमा रहेको वित्तीय इकाईमा गराउनुपर्ने छ । यस्तो विवरण १५ दिनभित्र बुझाउनुपर्ने निर्देशिकामा उल्लेख छ ।
उच्च जोखिममा रहेका ग्राहक, अन्य कसुर लागेका वा शंकास्पद् गतिविधिमा संलग्न रहेका व्यक्तिहरुको क्यासिनो प्रवेशलाई पनि क्यासिनो सञ्चालकहरुले कडाइ गर्नुपर्ने भनिएको छ । यस्तो ग्राहकको पहिचान गरी उनीहरुको विवरण अद्यावधिक गरी राख्नुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ ।