काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले शनिबारको सचिवालय बैठकमा औपचारिक रूपमै घोषणा गरे- म कास्की २ बाट चुनाव लड्न चाहन्नँ।
कास्की-२ बाट चुनाव जितेर मन्त्रीसमेत भएका रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि उनको निर्वाचन क्षेत्र रिक्त छ।
वामदेवले पटक-पटक अधिकारीको क्षेत्रमा आफू नलड्ने बताउँदै आएका थिए।
फागुन १८ गते उनले फेसबुकमा स्टाटस नै लेखे- मृत्युशोकमा पाइला टेकेर व्यक्तिगत स्वार्थ पूरा गर्ने विचारलाई मैले कहिल्यै मान्यता दिइनँ। जीवनभर दिने पनि छैन। मेरो इच्छाविपरीत पार्टीले निर्णय गरेछ भने पनि म क. रवीन्द्रको दु:खद निधनबाट खाली भएको निर्वाचन क्षेत्रमा उम्मेदवार बन्ने छैन।