काठमाडौँ: चालू आर्थिक वर्षको पहिलो महीनामा विप्रेषण आप्रवाह रु ७५ अर्ब ४० करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ नामक प्रतिवेदनमा विप्रेषण आप्रवाह दुई प्रतिशतले वृद्धि भएको उल्लेख गरेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ०.७ प्रतिशतले वृद्धि भएको छ । बैंकका अनुसार अघिल्लो वर्ष यस्तो आप्रवाह २४ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा खुद ‘ट्रान्सफर’ प्राप्ति ०.२ प्रतिशतले वृद्धि भई रु ८४ अर्ब ९३ करोड पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा त्यस्तो प्राप्ति ३५.३ प्रतिशतले बढेको थियो । अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या समीक्षा अवधिमा १९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा त्यस्तो सङ्ख्या ३०.८ प्रतिशतले घटेको थियो ।
मुलुक शोधनान्तर बचतमा
विगत लामो समयदेखि ऋणात्मक रहेको देशको शोधनान्तर अवस्था चालू आवको पहिलो महीनामा बचतमा पुगेको छ । केन्द्रीय बैंकका अनुसार शोधनान्तर स्थिति रु छ अर्ब पाँच करोडले बचतमा रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु २४ अर्ब ७७ करोडले घाटामा थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको पहिलो महीनामा रु २२ करोड ५० लाखले घाटामा रहेको थियो ।
चालू आवको पहिलो महीनामा पूँजीगत ट्रान्सफर रु एक अर्ब तीन करोड र प्रत्यक्ष वैदेशिक लगानी रु एक अर्ब ४४ करोड रहेको छ । अघिल्लो आवको सोही अवधिमा पूँजीगत ट्रान्सफर रु एक अर्ब ७० करोड र प्रत्यक्ष वैदेशिक लगानी रु २९ करोड ५७ लाख रहेको थियो ।