काठमाडौँ: नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरी पूर्ण सरसफाइतर्फ अग्रसर हुने सरकारी प्रतिबद्धतालाई मिडिया तथा नागरिक समाजले सकारात्मक सहयोग गर्नुपर्नेमा जोड दिइएको छ ।
नेपाल पत्रकार महासङ्घले आज यहाँ आयोजना गरेको खुला दिसामुक्त राष्ट्र घोषणा विषयक सञ्चार अन्तरक्रिया कार्यक्रमका वक्ताले सरकारले घोषणा गरेको सकारात्मक अभियानलाई सफल बनाउनु सामाजिक दायित्व भएको भन्दै पूर्ण सरसफाई अभियानलाई प्रभावकारी रुपमा अघि बढाउन सबै जुट्नुपर्ने खाँचो औँल्याउनुभयो ।
साथै अभियानलाई सफल बनाउन मिडियामार्फत आम जनमानसमा सचेतना फैलाइनुपर्नेमा उनीहरुले जोड दिनुभयो ।
नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झाले खुला दिशामुक्त घोषणा गरिसकेपछिको रणनीतिक योजनाबारे जानकारी गराउँदै सफाइ कार्यक्रमलाई साझा अभियानका रुपमा अघि बढाइनुपर्ने बताउनुभयो ।
खानेपानी विभागका उपमहानिर्देशक उमाकान्त दवाडीले खुला दिसामुक्त घोषणा मात्र नभई पूर्ण सरसफाइ अभियानलाई प्रभावकारी रुपमा अघि बढाइ सन् २०३० सम्मको दिगो विकास लक्ष्यलाई साकार बनाउने गरी सबै क्षेत्रको सक्रियता आवश्यक भएको धारणा राख्नुभयो ।
महासङ्घका उपाध्यक्ष विपुल पोखरेलले खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने विश्वमै नेपालले फरक पहिचान बनाउन सफल भएको र यस्तो महत्वपूर्ण कार्यलाई मिडिया, नागरिक समाज तथा आम समुदाय जिम्मेवारीतापूर्वक लाग्नुपर्नेमा जोड दिनुभयो ।
सरकारले आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा समावेश गरिएअनुरुप यही असोज १३ गतेदेखि नेपाललाई खुला दिशामुक्त राष्ट्र घोषणा गरी पूर्ण सरसफाइ अभियान चलाउने कार्यक्रम रहेको खानेपानी मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । हालसम्म नेपालका ७७ वटै जिल्ला खुला दिसामुक्त घोषणा भइसकेको छ ।