काठमाडौँ: बलात्कार आरोपमा मुछिएका प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन्। महराले आज आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले उपसभामुख डा शिवमाया तुम्बाहाम्फेसमक्ष राजीनामा दिएका हुन् ।
सभामुखका स्वकीय सचिव सागर केसीले सिंहदरबारस्थित उपसभामुखको सचिवालयमा राजीनामासम्बन्धी व्यहोराको पत्र बुझाएको बताइएको छ ।
राजीनामापत्रमा उबले भनेका छन्, ‘‘हिजो(सोमबार)देखि विभिन्न सञ्चारमाध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबीनको लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा आजैका मितिदेखि छानबीन प्रक्रिया नसकिँदासम्म लागि राजीनामा दिएको छु ।’’
संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीलाई आइतबार राति उनकै डेरामा गई बलात्कार गरेको आरोप महरामाथि लागेको थियो।
उक्त घटनापछि मंगलबार बिहान बसेको नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले महरालाई सभामुख र सांसदबाट राजीनामा दिन भनेको थियो। महरा तत्कालीन नेकपा माओवादी केन्द्रबाट सभामुख चुनिएका थिए।
अहिले तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेको छ।
नेकपा सचिवालय निर्णयअनुसारपछि उपसभामुख शिवमाया तुम्बाहाम्फे महराको राजीनामा आउने ठानेर सिंहदरबारस्थित कार्यालयमा पुगेकी थिइन्।