काठमाडौँ: सन् २०२० देखि सञ्चालमा ल्याउने गरी काम भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा पुगेको छ ।
विमानस्थल सञ्चालनका लागि आवश्यक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेसँगै फिनिसिङको काम सुरु भएको छ। विमानस्थल सुदृढीकरण कार्य आयोजना इकाई रुपन्देहीका प्रमुख प्रवेश अधिकारीका अनुसार विमानस्थल सञ्चालनका लागि आवश्यक संरचना निर्माणअन्तर्गतका भौतिक संरचना निर्माणको काम सकिएको छ। टर्मिनल भवनमा फिनिसिङ र उपकरण जडानको काम सुरु भएको उनको भनाइ छ।
सरकारले २०१४ नोभेम्बरमा चिनियाँ ठेकेदार ‘नर्थ वेस्ट सिभिल एभिएसन’सँग गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सम्झौता गरेको थियो।
सम्झौताअनुसार ठेकदारले २०१७ को डिसेम्बर ३१ सम्म विमानस्थलको ‘आइसिबी- जिरो एक’ अन्तर्गतका भौतिक पूर्वाधारको सबै काम सक्नुपर्ने थियो। तर, निर्माण कम्पनीले समयमा काम नसकेपछि समय थप्दै सन् २०१९ को डिसेम्बरसम्ममा ठेकेदार कम्पनीले निर्माणको काम सक्नुपर्ने म्याद रहेको छ।
सरकारले ६ अर्ब २२ करोड रुपैयाँमा ‘आइसिबी-जिरो एक’ अन्तर्गत विमानस्थलको ३ हजार मिटरको रनवे, ट्याक्सी वे, एप्रोन, टर्मिनल भवन र टावर कन्ट्रोल भवन निर्माणका लागि सम्झौता गरेको थियो।
विमानस्थलमा रनवे वे निर्माणको काम सकिसकेको छ भने प्रशासनिक भवन निर्माणको काम पनि लगभग सकिसकेको अधिकारी बताउँछन्।
टर्मिनल भवनको मुख्य संरचनाको कामपनि सकिएको छ। उनको अनुसार अहिले टर्मिन भवनमा मार्बल, टायल, सिसिटिभी, एक्स–रे मेसिन जडान लगायनको काम सुरु भएको छ।
योसँगै निर्माण कम्पनीले अहिले कार पार्किङ क्षेत्रको काम थालेको उनको भनाइ छ। ‘प्रशासनिक भवनको फिनिसिङको काम पनि अन्तिम चरणमा पुगेको छ,’ अधिकारीले भने, ‘टर्मिनल भवनभित्र सेन्टल एसी स्टिम, डिस्प्ले बोर्ड, सिसिटिभी, यूपिएस, सञ्चार उपकरण, एक्सेर मेसिन, फायरसम्बन्धी उपकरण जडानको काम पनि धमाधम भइरहेको छ।’