काठमाडौँ: संसद सचिवालयकी कर्मचारीलाई बलात्कार गर्न खोजेको र नमान्दा कुटपिट गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराले घटनाबारे बयान दिन आनाकानी गरेका छन्।
पक्राउपछि उनलाई प्रहरीले प्रारम्भिक सोधपुछ गरेपनि सरकारी वकिलको उपस्थितिमा थप बयान दिन भने मानेका छैनन्। बरू स्वास्थ्यका कारण अहिले बयान दिन नसक्ने चिठी अस्पतालबाट प्रहरीलाई दिन लगाएका छन्।
अस्पतालबाट त्यस्तो पत्र आएको काठमाडौं प्रहरी प्रमुख उत्तम सुवेदीले पुष्टि गरे। स्वास्थ्यमा गम्भीर समस्या भन्दै उनी नर्भिक अस्पतालमा उपचार गर्न बसेका छन्।
शरिरमा सुगरको मात्रा,अनिद्रा र तनाव बढेको नर्भिक अस्पतालले जनाएको थियो। असोज १९ गते पक्राउ परेका उनी २३ गते देखि नर्भिकको क्याविनमा बसिरहेका छन्। अनुसन्धानको म्याद थप्न जाँदामात्र मंगलबार उनी अदालतमा दिनभर बसेका थिए। त्यसपछि फेरि उनी अस्पतालमै बसेका छन्।
यता उनलाई हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद शुक्रबारसम्ममात्र अदालतले दिएको छ। शुक्रबारसम्म पनि उनको बयान लगायतका अन्य अनुसन्धान नसकिए आइतबार फेरि म्याद थप्न भने सकिन्छ।
पक्राउ गरेको २५ दिनसम्ममा मुद्दा चलाउने वा नचलाउने निर्णय गरिसक्नुपर्ने कानुनी व्यवस्था छ।
उनी पक्राउ परेको १२ दिन पुगिसकेको छ। अझै १३ दिनसम्म उनीमाथि मुद्दा चलाउने/नचलाउने निर्णय गरिसक्नुपर्ने छ।