काठमाडौं: कलंकीदेखि महाराजगन्जसम्मको दोस्रो चक्रपथ विस्तारको काम थालिएको छ। सडक विभागले दसैंअघिदेखि कलंकीबाट सडक छेउछाउका रूख काट्न सुरु गरेको हो।
सरकारले पहिलो चरणमा कोटेश्वरदेखी कलंकीसम्म आठ लेनको विस्तार गरेको थियो। दोस्रो चरणमा कलंकीदेखि महाराजगन्जसम्मको ८.५ किलोमिटर भाग पनि सोहीअनुसार विस्तार गर्न लागेको हो।
सडक विभागका अनुसार चीन सरकारको सहयोगमा चक्रपथ विस्तार गर्न लागिएको हो। चक्रपथ विस्तारमा एक–एकवटा अण्डरपास र ओभरपास बनाउन पनि प्रस्ताव गर्न जनाइएको छ।
सडक विभाग वैदेशिक सहयोग प्रमुख अर्जुनजंग थापाले भने, ‘सडक बनाउन पहिला क्लियरेन्सको काम गर्नुपर्छ। त्यसैले हामीले कलंकीबाट सडक दायाँबायाँका रूख काट्ने, विद्युतीय संरचना हटाउने, घरटहरा हटाउने काम सुरु गरेका छौं।’
उनका अनुसार चक्रपथ विस्तारका लागि खानेपानीका पाइपहरु हटाउनुपर्ने देखिएको छ। महाराजगन्जका घरहरू पनि भत्काउनुपर्ने देखिएको छ। त्यस्तैगरी चक्रपथ विस्तारमा स्वयम्भूको गेटमा रहेको बुद्धको ठूलो मूर्ति हटाउनुपर्नेछ।
वनस्थली र स्वयम्भूको बीचमा पर्ने १ सय ३२ केभीको विद्युत टावर पनि हटाउनुपर्ने आएको छ। ‘हामीलाई ३१ मिटरको बाटो क्लियरेन्स चाहिएको हो,’ उनले भने, ‘२५ मिटरभित्रै बुद्धको मूर्ति भएकाले हटाउनुपर्छ।