काठमाडौँ: गैरआवासीय नेपाली संघको नवौं अधिवेशनबाट अध्यक्षमा कुमार पन्त निर्वाचित भएका छन्। उनी कुल आचार्यलाई पराजित गर्दै आगामी दुई बर्षका लागि अध्यक्षमा निर्वाचित भएका हुन्।
बिहीबार राति ११ बजेदेखि मतगणना सुरु भएको थियो । बुधबार विद्युतीय मेसिनबाट मतदान गर्ने प्रक्रिया नमिलेपछि बिहीबार मतपत्रबाट मतदान भएको थियो ।
आगामी दुई वर्षको नेतृत्व चयनका लागि भएको निर्वाचनमा दुई हजार ५७० मतदाता रहेकोमा २ हजार ३४० मत खसेको थियो ।
आचार्य नेपाली कांग्रेसका आधिकारिक उमेद्वार हुन् भने पन्तलाई गगन थापाले समर्थन गरेका थिए।
जर्मनीमा होटल व्यवसाय गरिरहेका पन्त गोरखाका हुन्। पन्तले अध्ययनका सिलसिलामा वेल्जिमय हुँदै जर्मनीमा होटलमा काम गरेका थिए। अहिले जर्मनीमा उनी र गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष जीबा लामिछानेको लगानीमा तीन दर्जन होटल संचालनमा छन्।
निर्वाचनमा नेकपा निकटबाट कुमार पन्त र काँग्रेस निकटबाट कुल आचार्यले प्यानल नै बनाएर चुनाव लडेका थिए ।