काठमाडौं : बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले सार्क क्षेत्रको विकासका लागि काठमाडौं र ढाकाबीच सम्पर्क सञ्जाल (सडक, रेल, हवाई, जल) अपरिहार्य रहेको बताएका छन्।
सार्क र बिम्स्टेक मुख्यालय रहेका यी दुई राजधानीबीच सडक, हवाई, रेल र जलमार्गमा सहकार्य भएमा समृद्धिको उचाइमा पुग्न सकिने उनको भनाइ छ। यसका लागि दुवै मुलुकले आआफ्नो स्तरबाट पहल गर्नुपर्ने धारणा राष्ट्रपति हमिदले नेपाली उच्चस्तरीय नेताहरूसँग व्यक्त गरेका हुन्।
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सचिवालय काठमाडौं र बहुपक्षीय आर्थिक तथा प्राविधिक सहकार्यका लागि बंगालको खाडी आसपासका मुलुकको प्रयास (बिम्स्टेक) सचिवालय ढाकामा छ।
हमिदले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, प्रमुख प्रतिपक्षी कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा अध्यक्ष पुष्पकमल दाहाललगायत नेताहरूसँग भेटवार्ता गरेका छन्।
नेताहरूको भेटमा उनले सार्क र बिमस्टेक फरक उद्देश्यका लागि स्थापना भएका भिन्नभिन्न संगठन भए पनि विकास र समृद्धिका लागि सहकार्य गर्ने साझा मञ्च रहेको बताएका थिए। ‘दुई संगठनको सहकार्य र त्यसभित्रका उपक्षेत्रीय सहकार्यले हामी साझा विकास अघि बढाउन सक्छौं,’ राष्ट्रपति हमिदलाई उद्धृत गर्दै भेटवार्तामा सहभागी एक नेताले भने।
नेपालको ऊर्जा क्षेत्र र पर्यटन समृद्धिको आधार भएकाले यसमा सहकार्य गर्नुपर्ने हमिदले बताए।
नेपाल र बंगलादेशको बीचमा करिब ४० किलोमिटर भूभाग भारत छ। त्यसैले सडक, रेल, हवाई तथा जलमार्गबाट जोडिन भारतीय साथ र सहयोग मुख्य रहनेछ। त्यसका लागि भारतसँग छलफल गर्न दुवै देशका नेता सहमत भएका छन्।
नेपालमा जलमार्गको विकास गर्न कोसी र गण्डकीलाई भारतको गंगा नदीमार्फत बंगलादेशका जमुना र पद्मा नदीसँग जोड्न सकिने धारणा दुवै देशका अधिकारीहरूको थियो।
सिंहाबाद–रोहनपुर रेलमार्ग तथा सइदपुर–विराटनगर–भद्रपुर हवाई सञ्जाल बनाउने विषयमा पनि छलफल भएको छ। बंगलादेश र नेपाल आकर्षक पर्यटकीय गन्तव्य भएकाले दुवै मुलुकले संयुक्त प्याकेजमा काम गर्ने विषयमा परामर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।