काठमाडौं:नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सैद्धान्तिक सहमति दिएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार अपराह्न बसेको सचिवालय बैठकले प्रधानमन्त्रीको अधिकारको विषय भएको भन्दै पुनर्गठन गर्न सैद्धान्तिक सहमति दिएको हो।
‘सरकारको काम प्रभावकारी बनाउन प्रधानमन्त्रीले आफ्नो विशेष अधिकार प्रयोग गर्नुपर्छ। त्यसका लागि तपाईंलाई ढोका खुला छ तर छिटो गर्नुस्। बाहिर मन्त्रिपरिषद् पुनर्गठनको धेरै हल्ला भएको छ। यसले सरकारको कामलाई ढिलासुस्ती गराउँछ’, बैठकमा सचिवालय सदस्यहरुले प्रधानमन्त्रीलाई सुझाव दिएका थिए।
एक सचिवालय सदस्यका अनुसार प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुर्नगठन गर्न ढिला नगर्ने बताएका थिए। ‘प्रधानमन्त्रीले ढिला नगर्ने भन्नुभएको छ। उहाँको विशेष अधिकार भएकाले जति बेला पनि मन्त्रिहरु हेरफेर गर्ने सम्भावना छ’, उनले भने। यस विषयमा ओलीले सोमबार निर्णय गर्न सक्ने बताइएको छ।
मन्त्रिपरिषद् पुनर्गठनमा सुरेन्द्र पाण्डे, वसन्त नेम्बाङ, पदम गिरी, प्रभु शाह, जनार्दन शर्मा, देवेन्द्र पौडेल, पम्फा भुसाल, प्रेम आले, कृष्णगोपाल श्रेष्ठ, घनश्याम भुसाल, पार्वत गुरुङ, यज्ञराज सुनुवार, विशाल भट्टराई, किसान श्रेष्ठ र छविलाल विश्वकर्माको नाम चर्चामा छ।
नेताहरुबीच सुरेन्द्र पाण्डेलाई मन्त्री बनाउने विषयमा आन्तरिक सहमति जुटिसकेको छ। नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले चितवनको एक कार्यक्रममा पाण्डेको नाम लिएर मन्त्री बन्ने सूचीमा रहेको बताएका थिए। नयाँ मन्त्रीका लागि वसन्त नेम्बाङ, पदम गिरी, प्रभु शाह, जनार्दन शर्मा, देवेन्द्र पौडेल, पम्फा भुसाल, प्रेम आले, कृष्णगोपाल श्रेष्ठलगायतको नाम चर्चामा छ।
त्यसैगरी घनश्याम भुसाल, पार्वत गुरुङ, यज्ञराज सुनुवार, विशाल भट्टराई, किसान श्रेष्ठ, छविलाल विश्वकर्माको नाम पनि चर्चामा छ। बैठकमा केही नामबारे चर्चा भए पनि उनीहरुलाई कुन मन्त्रालय दिने भन्नेबारे छलफल भएको छैन।