काठमाडौं: काठमाडौंमा मंगलबार साँझ अधिकांश ठाउँको मुख्य सडकमा सवारी जामले सर्वसाधारण र काम सकेर घर फर्कने जगिरवालाले निकै सास्ती भोग्नु पर्यो । उपत्यकाको ट्राफिक जाम झन्डै ८ बजेसम्म थियो ।
सरोकारवाला निकाय ट्राफिक प्रहरीका अनुसार बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमिस्टेक) को शिखर सम्मेलनको तयारीका क्रममा सडकका खाल्डाखुल्डी पुर्ने काम चलेकोले आज दिउसो देखि बेलुकासम्मै जाम भयो । यसअघि राति मात्र खाल्डाखुल्डी पुरिन्थ्यो । तर, भीआईपीहरु आउने दिन नजिकिँदा समेत सडकका खाल्डा पुर्ने काम नसकिएपछि मंगलबार दिउँसो खाल्डाखुल्डी पुर्न थालिएको छ ।
दिउँसोदेखि नै आवागमन सहज नभए पनि बेलुकाको समयमा भने जाम निकै फैलिएको ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ । ट्राफिक प्रहरीलाई सडकमा काम गराउँदै ट्राफिक पनि व्यवस्थापन गर्न हम्मे-हम्मे परेको थियो ।
विशेष गरी चोकहरुमा बढी समस्या देखिएको छ । भित्री सडकहरुमा पनि जाम भएकाले उपत्यकाका सवारी आवागमन अस्तव्यस्त भएको ट्राफिक प्रहरीले बताएको छ ।
आजभोलि सडक विभागका इन्जिनियर र प्राविधिकहरु सडकमा खटिएका छन् । बिमिस्टेक अगाडि ‘सडकमा एउटा पनि खाल्डा नराख्नू’ भन्ने सरकारको निर्देशन छ ।
भदौ १४ र १५ गते हुने बिमिस्टेक सम्मेलनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत ६ राष्ट्रका सरकार र राष्ट्र प्रमुख काठमाडौं आउने कार्यक्रम छ ।