काठमाडौं: स्वदेशी लगानीमा निर्माण भइरहेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको परीक्षण उत्पादन गर्ने तयारी भएपछि प्रसारणलाइन तयार राख्न लागिएको छ।
आयोजनाले एक साताभित्र पहिलो युनिटको परीक्षण गर्ने योजनाका साथ काम गरेपछि प्रसारणलाइनको पनि व्यवस्थापन मिलाउन लागिएको हो। नेपाल विद्युत प्राधिकरणले शनिबार सूचना प्रकाशित गर्दै आगामी आइतबारदेखि शनिबार (असार१३ देखि १९ गते)सम्म आयोजनालाई राष्ट्रिय विद्युत प्रणालीमा जोड्ने कार्यक्रम रहेकाले खिम्ती लामोसाँघु १३२ केभी प्रसारणलाइन बन्द रहने उल्लेख गरेको छ।
प्रणालीमा विद्युत अपुग हुने भएकाले ढल्केबरदेखि कोहलपुरसम्मका सबस्टेशनहरुबाट विद्युत आपूर्ति हुने क्षेत्रका औद्योगिक ग्राहकहरुको छोटो समयका लागि विद्युत कटौती हुन सक्ने जनाएको छ। कुलेखानी जलाशयको पानी प्रयोग गरि यथासम्भव विद्युत कटौतीको समय कम गर्न प्रयास गरिने सूचनामा उल्लेख छ।
आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेका अनुसार अहिले तार तान्ने काम भइरहेको छ। ‘आजदेखि वारि र पारि तान्ने काम भइरहेको छ,’ उनले भने, ’हामीले तामाकोशीको विद्युत सिधै ढल्केबर मात्र लैजाने गरि जोडेका थियौं। खिम्ती सवस्टेशनबाट काठमाडौं पनि लैजान मिल्ने र ढल्केबर पनि लैजान मिल्ने गरि जोड्न लागेका हो। अहिले भइरहेको काम त्यही हो।‘
अहिले सुरुङमार्गको परीक्षण चलिरहेको छ। आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठले भने सुरुङमार्गको सफल परीक्षण भएसँगै पहिलो युनिट (७६ मेगावाट)को परिक्षण उत्पादन गर्न लागिएको बताए। ‘अहिले म ड्याममा नै छु। सिभिल संरचनाको सफल परीक्षण भएको छ। उत्पादन सुरु गर्नु अघि विभिन्न चरणको परीक्षणहरु गर्नुपर्छ,’ उनले भने,’एक साताभित्र पहिलो युनिट सिस्टममा आउछ।‘ कुनै समस्या नआए एक सातामा पहिलो युनिटको परिक्षण उत्पादन सुरु गर्ने तयारीमा आयोजना छ।
‘सुरुङमा कुनै समस्या आएको भए त अनिश्चित थियो। समस्या नभएर नै परीक्षण गर्न लागिएको हो,’ उनले भने। आयोजनाले पहिलोपटक वैशाख १६ मा सुरुङमार्गमा पानी हाल्न सुरु गरेको थियो। तर पेनस्टक पाइपमा रहेको म्यानहोलको बिर्कोबाट पानी चुहिएपछि बन्द गरेर मर्मत थालियो। मर्मत सकेर पानी हालेपछि अडिट टनेलको गेटबाट पानी चुहियो। त्यसपछि सुरुङमार्गमा पानी पठाउन रोकियो।
मर्मत सकेर पानी हाले पनि बाढीको जोखिमलाई मध्यनजर गरेर पुन: पानी पठाउन बन्द गरिएको थियो। अहिले पुन:चौथोपटक सुरुङमार्गमा पानी हालेर परीक्षण भइरहेको छ। ८ किलोमिटर सुरुङमार्ग पुरै भरिएको आयोजनाले जनाएको छ। तामाकोशी स्वदेशी लगानीमा निर्माण भएको देशकै सबैभन्दा ठूलो जलविद्युत आयोजना हो। ४५६ मेगावाटको आयोजनामा ७६/७६ मेगावाटका ६ वटा टर्बाइन छन्। जसमा दुइवटा युनिटको उत्पादन चालु वर्षभित्रै गर्ने श्रेष्ठको दाबी छ। आयोजनाको चालु वर्ष १५२ मेगावाट विद्युत प्रणालीमा जोड्ने लक्ष्य छ। बाँकी युनिटहरु क्रमशः परीक्षण गरेर उत्पादन गर्दै लैजाने योजनामा आयोजना छ।
१५ दिनमा परीक्षण सक्ने भन्दै वैशाखमा पानी हाल्न सुरु गरिएको भए पनि विभिन्न खालका प्राविधिक समस्याहरु आएका कारण उत्पादन मिति धकेलिदै आएको छ। आयोजनाको योजना अनुसार त चैतभित्रै पहिलो युनिटबाट ७६ मेगावाट विद्युत उत्पादन हुनुपर्थ्यो। तर तीन महिना हुन लागिसक्दा पनि परीक्षण पूरा हुन सकेको छैन।
आयोजनाको जलाशय, बाँध, डिसेन्डर लगायतका सिभिल संरचना र त्यहाँ जडान गरिएका हाइड्रोमेकानिकल उपकरणको सफल परीक्षण भइसकेको छ। भने दुइ युनिटको विद्युत उत्पादनको बाहेकको परीक्षण पनि भइसकेको छ। यस अघि अडिट टनेलबाट पानी चुहिएका बेला दुई युनिटको परीक्षण गरिएको थियो। ४ किमी पूरै भरिएको पानी खाली गर्दा दुइ युनिटको परिक्षण गरिएको हो।
२०६८ मा निर्माण शुरु भएर २०७२ मा सम्पन्न गर्ने लक्ष्य राखिएको यो आयोजना निर्धारित समयभन्दा ६ वर्ष ढिलोगरी निर्माण सम्पन्न हुँदै छ। आयोजनाबाट वार्षिक २ अर्ब २८ करोड युनिट बिजुली उत्पादन हुनेछ। चालु वर्ष तीनवटा युनिटबाट २२८ मेगावाट र आगामी वर्ष थप तीन युनिटबाट २२८ गरि कुल ४५६ मेगावाट उत्पादन गर्ने लक्ष्य छ।