एजेन्सी:
संयुक्त राष्ट्रसंघले अहिले विश्वभरका मुलुकले गरेको वाचा अनुसार यो शताब्दीमा पृथ्वीको औसत तापक्रम २.७ डिग्री सेल्सियस बढ्न सक्ने बताएको छ।
जलवायु सम्मेलन सुरु हुनुभन्दा केही दिनअघि राष्ट्रसंघको वातावरण कार्यक्रम –यूएनईपी)ले यस्तो प्रतिवेदन सार्वजनिक गरेको हो। प्रतिवेदनमा मुलुकहरुले निकै कमजोर वाचा गर्ने तर पूरा नगर्ने गरेको उल्लेख छ।
जी२० का मुलुकले समग्र कार्बन उत्सर्जनको ७८ प्रतिशतको हिस्सा ओगट्ने र उनीहरुले यसअघि गरेको वाचा पनि पूरा नगर्ने पाइएको यूएनईपीका कार्यकारी निर्देशक इन्गर एन्डरसनले बताए।
कार्बन उत्सर्जन कमी गर्नु सबैको जिम्मेवारी भए पनि विकसित मुलुकको जिम्मेवारी विशेष हुने एन्डरसनको भनाइ छ। एन्डरसनका अनुसार अधिकांश मुलुकले यसअघि गरेका वाचाअनुसारको लक्ष्य सन् २०३० सम्मका लागि स्थगित गरिएको छ।
वैज्ञानिकहरुले यो समयसम्म निकै ढिला हुने भन्दै चेतावनी दिँदै आएका छन्।
आगामी साता स्कटल्याण्डमा विश्वभरका नेताहरुले जलवायु सम्मेलनमा भाग लिँदैछन्। यो सम्मेलन पृथ्वीको तापक्रम वृद्धि औद्योगिक कालपूर्वको औसत तापक्रमभन्दा १.५ डिग्री सेल्सियसमा सीमित राख्नको लागि कदम चाल्ने अन्तिम मौका भएको बताइएको छ। यसले पृथ्वीमा आउन सक्ने नकारात्मक असरबाट बचाउन सक्ने वैज्ञानिकहरुको भनाइ छ।