काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट दुई वर्षपछि बल्ल वृद्धि भएको छ।
मंगलबार सार्वजनिक भएको बजेट अनुसार सरकारले स्वास्थ्य क्षेत्रमा कुल बजेटको ४ दशमलब २९ प्रतिशत बजेट विनियोजन गरेको छ। आर्थिक वर्ष २०७५/०७६ का लागि कुल बजेट १३ खर्ब १५ अर्ब ५४ करोड प्रस्तुत गरिँदा स्वास्थ्यले ५६ अर्ब ४१ करोड ९७ लाख बजेट पाएको छ। यो बजेट चालू आर्थिक वर्ष २०७४/०७५ भन्दा शून्य दशमलब ४३ प्रतिशत बढी हो।
चालू आर्थिक वर्षमा सरकारले कुल बजेटको ३ दशमलब ८६ प्रतिशत बजेट स्वास्थ्यलाई दिएको थियो। अघिल्लो आर्थिक वर्ष २०७३/०७४ मा स्वास्थ्यले ४ दशमलब शून्य सात प्रतिशत बजेट पाएको थियो। त्योभन्दा अघिल्लो वर्ष भने स्वास्थ्यले कुल बजेटको ५ प्रतिशत पाएको थियो।
बजेटको अंकका आधारमा हेर्दा स्वास्थ्यको यो बजेट चालु वर्षमा भन्दा ९ अर्ब ७३ करोड बढी हो। २०७४/०७५ का लागि स्वास्थ्यले ४६ अर्ब ६८ करोड बजेट पाएको थियो।
सरकारले आगामी आर्थिक वर्षका लागि बजेटको सिलिङभन्दा १३ अर्ब ४६ करोड ५२ लाख रुपैयाँ बढी बजेट दिएको छ। राष्ट्रिय योजना आयोगले स्वास्थ्यलाई जम्मा ४२ अर्ब ९५ करोड रुपैयाँको बजेट सिलिङ दिएको थियो।
चालू वर्षको भन्दा पनि झन्डै ४ अर्ब कमको बजेट सिलिङ आएपछि सरकारको विरोध भएको थियो। स्वास्थ्य मन्त्रालयदेखि विभिन्न संघसंस्थाले स्वास्थ्यमा बजेट बढाउनुपर्ने सुझाव सरकारलाई दिएको थियो। सरकारले त्यही आधारमा सिलिङ भन्दा बढी बजेट विनियोजन गरेको हो।
संघ, प्रदेश र स्थानीय तहमा बजेट
संघीय सरंचना अनुसार सरकारले संघ, प्रदेश र स्थानीय तहमा बजेट विनियोजन गरेको छ। स्वास्थ्यले पाएको कुल ५६ अर्ब ४१ करोड ९७ लाख बजेटमध्ये संघीय सरकारलाई ३४ अर्ब ८ करोड २३ लाख बजेट पाएको छ। यस्तै, सात वटै प्रदेशका लागि ४ अर्ब १८ करोड ४७ लाख र स्थानीय तहका लागि कुल १८ अर्ब १५ करोड २७ लाख बजेट दिइएको छ।
स्वास्थ्य मन्त्रालयले स्वास्थ्यका हालसम्मका उपलब्धिको रक्षा गर्दै नयाँ उपलब्धि हासिल गर्न ६१ अर्ब १९ करोड रुपैयाँको बजेट प्रस्ताव गरेको थियो।
विश्व स्वास्थ्य संगठनले हरेक देशले कुल बजेटको कम्तिमा १० प्रतिशत स्वास्थ्य क्षेत्रमा छुट्याउन सिफारिस गरेको छ। सोही अनुसार कतिपय विकसित देशमा कुल ग्रार्हस्थ उत्पादनको करिब ३० प्रतिशतसम्म पनि स्वास्थ्य क्षेत्रमा बजेट विनियोजन हुने गरेको पाइन्छ। तर, नेपालमा भने स्वास्थ्य बजेटको प्रतिशत हरेक वर्ष घट्दो क्रममा छ।
स्वास्थ्यले सबैभन्दा धेरै बजेट गिरिराजमणि पोखरेल मन्त्री हुँदा आर्थिक वर्ष २०६४/०६५ मा ७ दशमलब १६ प्रतिशत पाएको थियो। स्वास्थ्य मन्त्रालयको इतिहासमा उक्त बजेट हिस्सा नै अहिलेसम्मकै सबैभन्दा बढी हो। त्यसपछिका आर्थिक वर्षमा बजेट घट्दो क्रममा थियो।