पहिलोक्लिक समाचारदाता
काठमाडौँ: चार सय ४६ मेगावाटको माथिल्लो तामाकोशीको आयोजनाको सेयर प्रभावित वासिन्दाका लागि दुई सातापछि खुल्ने भएको छ ।
प्रभावितलाई सेयर बाँडफाँट गरेपछि सर्वसाधारणका लागि खुला गरिने आयोजनाले जनाएको छ ।
माथिल्लो तामाकोशी २५ प्रतिशत सेयर प्रभावित क्षेत्रका वासिन्दा र सर्वसाधारणका लागि छुट्याइएको छ ।
१० प्रतिशत प्रभावित क्षेत्रका वासिन्दा र १५ प्रतिशत सेयर सर्वसाधारणका लागि जारी हुने आयोजनाले जनाएको हो ।
दोलखा प्रभावित क्षेत्रका वासिन्दालाई एक करोड पांच लाख ९० हजार कित्ता सेयर जारी गरिनेछ भने यस्तै सर्वसाधारणका लागि एक करोड ५८ लाख ८५ हजार कित्ता सेयर जारी हुनेछन् ।
आयोजना प्रभावित क्षेत्रका लागि वासिन्दाले न्यूनतम ३० कित्ता र अधिकतम ३०० कित्ता सेयर आवेदन गर्न सक्नेछन् भने सर्वसाधरणले न्यूनतम ५० देखि अधिकतम एक हजार कित्ता सेयर हाल्न पाउने आयोजनाले जनाएको छ ।
आयोजना प्रभावितले असार २४ गतेदेखि साउन ९ गतेसम्म सेयर भर्ना पाउनेछन् ।
आयोजनाबाट अतिप्रभाबित, प्रभावित र अन्य जिल्लावासीलाई तीन एक दशमलव ४ र एकको अनुपातमा सेयर सुनिश्चित गरिने छ ।आयोजना प्रभावितका लागि छुट्याइएको सेयर पूर्णरुपमा बिक्री नभएमा सर्वसाधारणका लागि निष्कासन गरिने सेयरमा थप गरिने पनि आयोजनाले जनाएको छ ।
परियोजना दोलखाको लामाबगरस्थित तामाकोशी नदीमा निर्माणाधीन छ ।
यसअघि आयोजनाले संचयकर्ता र संस्थापक सेयर रहेका संस्थाका कर्मचारीका लागि सेयर निष्कासन गरिसकेको छ । यो आयोजन २०१६ को मार्चमा निर्माण सम्पन्न गरिसक्ने लक्ष राखिएको थियो । कान्तिपुर दैनिकबाट