काठमाडौँ : ६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोले जम्मा २९ जनालाई मात्रै प्रतिवादी बनाउन राय दिएको छ ।
ब्युरोले बुधबार सरकारी वकिल कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनमा २९ जनालाई मात्रै प्रतिवादी बनाउन राय दिएको हो । जबकि सीआईबीले पक्राउ गरेर ३२ जनालाई हिरासतमा राखेको छ भने अन्य १८ जना फरार रहेको जनाएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता जनक घिमिरेले २५ जना थुनुवा र ४ जना फरार प्रतिवादी गरी कुल २९ जनालाई मुद्दा चलाउन रायसहितको प्रतिवेदन पेश भएको जानकारी दिए । प्रतिवेदन कुल ३१४ पृष्ठको रहेको जनाइएको छ ।
अब सरकारी वकिलको कार्यालयले मिसिल अध्ययन गरेर प्रतिवादी टुंगो लगाएर जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गर्नेछ । हङकङबाट ब्रेकप्याडमार्फत आएको अवैध सुन साउन ३ मा सिनामंगलबाट बरामद राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो । राजश्व हुँदै सो प्रकरणको अनुसन्धान सीआईबीले टुंग्याएर मुद्दा दायर गर्न लागिएको हो ।