काठमाडौँ:
नेकपा (माओवादी केन्द्र) का नेताहरूले पार्टीलाई छरितो बनाउन सुझाव दिएका छन्।
काठमाडौंको कमलादीमा जारी विधान सम्मेलनको दोस्रो दिन समूहगत छलफलको निष्कर्ष सुनाउँदै समूहका प्रमुखहरूले पार्टीलाई संघीयताको मर्मअनुसार सञ्चालन गर्दै पार्टीलाई छरितो एवं क्रियाशील बनाउनुपर्ने सुझाव दिएका हुन्।
हिमाल शर्माले पदाधिकारीसहित प्रत्यक्ष निर्वाचनबाट चयन गर्नुपर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिए। पार्टी र राजकीय नियुक्तिमा आलोपालोको व्यवस्था गर्नुपर्ने उल्लेख गर्दै उनले प्रदेशलाई थप अधिकार दिनुपर्ने बताए।
दिलीपकुमार प्रजापतिले पार्टीलाई जनतासमक्ष लैजान नयाँ विधानले सहयोग गर्ने विश्वास व्यक्त गरिएको उल्लेख गर्दै जातीय छुवाछूतलाई गम्भीर अपराधको रूपमा राख्नुपर्ने सुझाव दिएका छन्।
उनले केन्द्रीय सदस्यको संख्या सकेसम्म कम गर्नुपर्ने सुझाव आफ्नो समूहमा आएको उल्लेख गर्दै पूर्णकालीन पार्टी सदस्यको व्यवस्था स्पष्ट रूपमा गर्न सुझाव दिए।
कुमार पौडेलले पार्टीलाई विधिगत रूपमा सञ्चालनका लागि विधानलाई पारित गरेर कार्यान्वयनमा लैजान सुझाव दिए। पार्टीले सत्ता सञ्चालन गर्नुपर्ने व्यवस्था विधानमै गर्नुपर्ने सुझाव दिँदै उनले घाइते तथा पूर्वजनमुक्ति सेनालाई विशेष व्यवस्था गर्नुपर्ने बताए।
परशुराम रम्तेलले पार्टी एकता, आन्तरिक मूल्यांकन र मनोनयनलाई व्यवस्थित गर्नुपर्ने र छुवाछूतलाई गम्भीर रूपमा लिने व्यवस्था गर्नुपर्ने सुझाव दिए। उनले आफ्नो समूहमा चुनाव चिह्न फेर्नुपर्ने सुझाव प्राप्त भएको रिपोर्ट पेस गरेका छन्।
वामदेव क्षेत्रीले विधानलाई छरितो बनाउन सुझाव दिँदै प्रदेश र स्थानीय पार्टी समितिलाई कार्यकारी बनाउने गरी विधान संशोधन हुनुपर्ने बताए। उनले पार्टीका सदस्यभन्दा पनि पार्टी शुभचिन्तकको अध्यक्षतामा अनुशासन समिति बनाएर शक्तिशाली बनाउनुपर्ने सुझाव पेस गरे।
हरिराज अधिकारीले चुनाव चिह्न बदल्नुपर्ने सुझाव प्राप्त भएको उल्लेख गर्दै नागरिकता पाएपछि पार्टीको सदस्या प्राप्त गर्ने अवस्था बनाउनुपर्ने सुझाव दिएका छन्।
उनले आयोगलाई शक्तिशाली बनाउनुपर्ने र सबै पार्टी समितिलाई साना र छरितो बनाउनुपर्ने सुझाव दिए।
रञ्जित तामाङले यही अधिवेशनबाट पार्टी विधान पारित गरेर कार्यान्वयनमा ल्याउनुपर्ने सुझाव प्रस्तुत गर्दै आयोगलाई क्रियाशील बनाउनुपर्ने बताए। उनले सरकार र पार्टीलाई समावेश गरेर सत्ता सञ्चालन समन्वय समिति बनाउनुपर्ने सुझाव पनि पेस गरेका छन्।
झक्कुप्रसाद सुवेदीले वैज्ञानिक समाजवादमा जानेगरी प्रस्तावना लेखिनुपर्ने बताउँदै जातीय छुवाछूत गम्भीर रूपमा लिनुपर्ने व्यवस्था गरिनुपर्ने सुझाव दिए। उनले नागरिकता पाएपछि पार्टी सदस्यता दिनुपर्ने व्यवस्था गर्न र स्थायी समिति हटाउन सुझाव प्राप्त भएको बताए।
निर्मल आचार्यले पार्टी सदस्य अनलाइनमार्फत् नवीकरण गर्नुपर्ने व्यवस्था गर्ने र पार्टीलाई प्रविधियुक्त बनाउनुपर्ने सुझाव पेस गरेका छन्।उनले स्थायी समिति विधानमा राख्न नपर्ने सुझाव रहेको उल्लेख गर्दै पार्टी संरक्षक समिति बनाउनुपर्ने पनि बताएका छन्।
ओम शर्माले प्रस्तावनालाई चुस्त बनाउनुपर्ने र पार्टीको नाम फेर्नुपर्ने सुझाव आएको उल्लेख गर्दै पार्टी कमिटी चयन गर्न प्रत्यक्ष निर्वाचन गर्ने व्यवस्था गर्नुपर्ने बताए। उनले केन्द्रीयसहित सबै समितिलाई छरितो बनाउन एवं जन नियन्त्रित पार्टी र पार्टी नियन्त्रित सरकार बनाउनुपर्ने बताए।
सुझाव पेश गर्ने क्रममा कञ्चन खनालले महाधिवेशन प्रतिनिधि पार्टी समिति सदस्यबाट निर्वाचित भएर आउनुपर्ने र सहिद, वेबत्ता र घाइतेका सदस्याका प्रतिनिधिलाई महाधिवेशनमा परिवेक्षकका रूपमा राख्नुपर्ने सुझाव दिए। उनले पार्टीलाई छरितो एवं जनमैत्री बनाएर सबै क्षेत्र र समूदायलाई समेटेर लैजानुपर्ने बताए।
सरल सहयात्रीले प्रस्तावनालाई छरितो बनाउनुपर्ने, पार्टी र निर्वाचन चिह्न फेर्न सुझाव आएको उल्लेख गर्दै सङ्गठनात्मक सिद्धान्तलाई छोटो बनाउनुपर्ने र पार्टी सदस्य दिँदा सरल बनाउनुपर्ने बताए। उनले निर्वाचन, लेखा र अनुशासनलाई थप अधिकार दिनुपर्ने र महाधिवेशनको मिति स्पष्टरुपमा तोकिनुपर्ने सुझाव रहेको उल्लेख गरे। उनले पार्टीका सबै कमिटी प्रत्यक्ष निर्वाचनबाट चुनिनुपर्ने बताए।
युवराज चौलागाईले प्रत्यक्ष निर्वाचनमा पार्टी समितिलाई लैजानुपर्ने सुझाव पेश गर्दै पार्टीको स्थायी समिति सदस्य विधानमा उल्लेख गर्न नपर्ने बताए। उनले पार्टीभित्र मात्र नभई सबै तहका सार्वजनिक पदको उम्मेदवार पार्टी सदस्यबाट तय गर्नुपर्ने सुझाव पेश गरे।
बुधबार १३ समूहले विधानमाथि सुझाव पेस गरिसकेका छन्। मंगलबारदेखि काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरू भएको अधिवेशनमा सहभागीलाई विभिन्न २० समूहमा विभाजन गरिएको थियो। बैठक बिहिबार विहान ११ बजे फेरि बस्नेछ।
