काठमाडौँ: आइतबार बिहानै बूढानीलकण्ठस्थित देउवा निवासमै पुगेर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।
दुई शीर्ष नेताबीच खासगरी संसदीय छानबिन समितिको कार्यादेश र क्षेत्राधिकारमा सहमति गर्ने विषयमा छलफल भएको कार्यदलको सदस्यसमेत रहेका कांग्रेसका सहमहामन्त्री जीवन परियारले जानकारी दिए।
‘हामीले राखेको कुरामा प्रधानमन्त्री गम्भीर हुनुहुन्छ’, सांसद परियारले भेटवार्ताबारे जानकारी दिँदै सञ्चारकर्मीसँग भने, ‘प्रधानमन्त्रीज्यूले शीर्ष नेताबीच पुनः छलफल गरेर आजै बेलुका तथा भोलि बिहानसम्म सहमति जुटाउने भन्नुभएको छ।’
खासमा सहमतिका लागि आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री, देउवा र सत्तारुढ एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल गर्ने तय भएको थियो।
तर देउवा अस्वस्थ भएकाले सो बैठक नै बूढानीलकण्ठमा सारिएको सांसद परियारले जानकारी दिए।
‘सभापतिज्यू अस्वस्थ हुनुभयो, उहाँ बालुवाटार जान नसक्ने भएपछि उहाँले दुवै नेता (प्रचण्ड र ओाली) लाई बूढानीलकण्ठ आउनु भन्नुभएको थियो, तर आज प्रधानमन्त्री मात्रै पुग्नुभयो।’
