काठमाडौँ: साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गर्दै काठमाडौं गोर्खाजले सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) मा विजयी सुरुआत गरेको छ।
जनकपुरले दिएको एक सय ३१ रनको लक्ष्य काठमाडौँले पाँच विकेट गुमाएर १८ ओभरमा पूरा गरेको हो। काठमाडौँका वेन चार्ल्सवर्थ ४६ रन बनाउँदा जान निकोल लफ्टी-इटोनको बलमा कट एन्ड बोल्ड हुन पुगे। उनले २३ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे।
त्यस्तै, भीम सार्की तीन रनमा ललित राजवंशीको बलमा विकेट किपर लाहिरु मिलान्थाको हातबाट आउट हुन पुगे। आकाश त्रिपाठी ४५ बलमा पाँच चौका सहयोगमा ३९ रन बनाउँदा सञ्जय कृष्णमूर्तीको बलमा बोल्डआउट भए।
मिलिन्द कुमार १९ रनमा पेभेलियन फर्के। जोन सिम्पसन १३ रन बनाउँदा अनिल साहको बलमा एलबीडब्लु धरापमा परे। मोहम्मद आदिल आलम आठ र जेरहार्ड इरसमस एक रनमा अविजित रहे।
जनकपुरका लागि ललित राजवंशी, जान किनोन लफ्टी-इटोन, सञ्जय कृष्णमूर्ती, अनिल साह र किशोर महतोले एक-एक विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ब्याटिङको निम्तो पाएको जनकपुरले ६ विकेटको क्षतिमा एक सय ३० रन बनाएको थियो।
जनकपुरका लागि प्रारम्भिक ब्याटर आशिफ शेखले अर्धशतक प्रहार गरे। उनले ४१ बलमा ६ चौका र एक छक्का सहयोगमा ५४ रन बनाउँदा शाहब आलमको बलमा आउट भए।
त्यस्तै, जनकपुरका लागि मयन यादव ३४ रनमा अविजित रहे। मयनले २९ बलमा दुई चौका र एक छक्का हाने। रुपेश सिंह सात रनमा अविजित रहे।
लाहिरु समरकुन २२ रन बनाउँदा करण केसीको बलमा मोहम्मद आदिल आलमको हातबाट क्याच आउट हुन पुगे। लाहिरु मिलान्था सात रन बनाउँदा क्याच आउट भए।
कप्तान अनिल साह शुन्यमै आउट भए। जान निकोल लफ्टी-इटोन दुई रन बनाउँदा मिलिन्द कुमारको बलमा बोल्ड आउट भए। सञ्जय कृष्णमूर्ती पनि दुई रनमा सन्तोष यादवको बलमा बोल्ड आउट हुन पुगे।
काठमाडौँ गोखार्जका मिलिन्द कुमार उद्घाटन खेलमा प्लेयर अफ दि म्याच बनेका छन्। उनले चार ओभरमा १५ रन खर्चेर तीन विकेट लिएका थिए। त्यस्तै, उनले २२ बलमा एक छक्का सहयोगमा १९ रन बनाएका थिए।
प्रतियोगिताको सोमबार अपराह्न प्रधानमन्त्री सुशीला कार्कीले उद्घाटन गरेकी हुन्। त्यसअघि हेलिकप्टरबाट पुष्प वृष्टि गरिएको थियो। उद्घाटन खेलमा नौ हजार पाँच सय दर्शक उपस्थित रहेको नेपाल क्रिकेट संघले जनाएको छ।
मंगलबार दुई वटा खेल हुनेछन्। पहिलो खेलमा बिहान ११:४५ बजे चितवन राइनोज र कर्णाली याक्स तथा दोस्रो खेलमा अपराह्न ४ बजे विराटनगर किंग्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन्।
