मोरङ: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ठूला सिँचाइ आयोजनालाई कृषि उत्पादन, रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्रसँग जोड्न सके ग्रामीण क्षेत्रबाट हुने जनसंख्या पलायन न्यूनीकरण गर्न सकिने बताउनुभएको छ।
सुनसरी–मोरङ सिँचाइ परियोजनाको स्थलगत अध्ययन तथा परियोजनाबाट प्रभावित स्थानीयवासी र जल उपभोक्ताका समस्या तथा गुनासा सुन्ने क्रममा मन्त्री श्रेष्ठले सिँचाइलाई केवल नहर निर्माणका रूपमा बुझ्न नहुने बताउनुभयो।
उहाँले सिँचाइमा गरिएको लगानीको प्रतिफल कृषि उत्पादन र उत्पादकत्व वृद्धिमार्फत प्राप्त हुने भएकाले सिँचाइसँगै कृषि उत्पादन तथा किसान लक्षित कार्यक्रमलाई एकीकृत रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो।
“सिँचाइमा लगानी गरेर मात्रै पुग्दैन, त्यसबाट उत्पादन र आम्दानी बढ्ने वातावरण पनि बनाउनुपर्छ,” उहाँले भन्नुभयो, “सिँचाइ र कृषिका कार्यक्रमलाई कसरी एकीकृत रूपमा अघि बढाउन सकिन्छ भन्ने विषयमा मन्त्रालयले सूक्ष्म अध्ययन गरिरहेको छ।”
मन्त्री श्रेष्ठका अनुसार सुनसरी–मोरङ सिँचाइ परियोजनाले मात्र वार्षिक रु १४ अर्बभन्दा बढी मूल्य बराबरको कृषि उत्पादनमा योगदान पुर्याउँदै आएको छ। यसले सिँचाइ पूर्वाधारमा गरिएको लगानीको प्रतिफल कृषि क्षेत्रमा देखिएको पुष्टि गर्ने उहाँको भनाइ थियो।
उहाँले प्रभावकारी सिँचाइ प्रणालीले कृषि क्षेत्रबाहेक ऊर्जा उत्पादन तथा अन्य आर्थिक गतिविधिमा समेत अप्रत्यक्ष योगदान पुर्याउने बताउनुभयो। सिँचाइ प्रणालीलाई जल उपभोक्तामैत्री, दिगो र स्थानीयवासीको अधिकार सुनिश्चित हुने किसिमले विकास गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो।
सिँचाइ पूर्वाधार निर्माण तथा विकास गर्दा प्रकृतिमा आधारित समाधानका उपायलाई प्राथमिकता दिनुपर्ने बताउँदै मन्त्री श्रेष्ठले ऊर्जा तथा सिँचाइ आयोजनामा देखिएको गेग्रान (सेडिमेन्ट) को समस्या दीर्घकालीन चुनौती बनेको धारणा राख्नुभयो। नदीबाट बगेर आउने गेग्रानको व्यवस्थापन तथा त्यसबाट आयोजनामा पर्ने असर न्यूनीकरणका उपाय आयोजनाको डिजाइन र सञ्चालनमै समेटिनुपर्ने उहाँको भनाइ थियो।
इन्टेकमा पानीको उपलब्धता चुनौतीपूर्ण
सुनसरी–मोरङ सिँचाइ प्रणाली नेपालको महत्वपूर्ण र ठूलो सिँचाइ प्रणालीमध्ये एक हो। करिब ६८ हजार हेक्टर कमान्ड क्षेत्र समेट्ने यस प्रणालीबाट ठूलो जनसंख्या कृषि तथा सिँचाइसँग प्रत्यक्ष रूपमा जोडिएको छ। भारत सरकारको सहयोगमा सन् १९६४ देखि १९७५ बीच निर्माण भएको यस प्रणालीले करिब छ दशकदेखि सेवा दिँदै आएको छ।
लामो समयदेखि सञ्चालनमा रहेकाले प्रणालीका विभिन्न संरचना जीर्ण हुँदै गएका छन्। कोशी नदीको धार परिवर्तन, गेग्रान थुप्रिने समस्या र इन्टेकमा पर्याप्त पानी नपुग्ने अवस्थाले परियोजनाको नियमित सञ्चालनमा चुनौती थपिएको छ।
विशेषगरी चतरामा कोशी नदीले ठूलो परिमाणमा गेग्रान बगाएर ल्याउने तथा नदीको धारमा आएको परिवर्तनका कारण सुनसरी–मोरङ सिँचाइ प्रणालीको इन्टेक क्षेत्रमा पानीको उपलब्धता प्रभावित हुँदै आएको छ। चतरा पुल निर्माणपछि नदीको मूल प्रवाह दायाँतर्फ सरेका कारण बायाँ किनारामा रहेको इन्टेकमा पर्याप्त पानीको प्रवाह कायम गर्न थप चुनौती देखिएको परियोजनाका अधिकारीहरूले बताएका छन्।
सुक्खायाममा इन्टेकमा उपलब्ध पानीको मात्रा करिब १० देखि १५ घनमिटर प्रतिसेकेन्डमा सीमित हुने गरेको छ। ड्रेजिङ गरेर पोखरी तथा नहरको क्षमता पुनःस्थापित गर्न सकिए पनि त्यसले मात्र परियोजनाको दीर्घकालीन समस्या समाधान नहुने प्राविधिक निष्कर्ष छ।
परियोजनाको डिजाइन प्रवाह करिब ६० घनमिटर प्रतिसेकेन्ड रहेकाले स्थायी डाइभर्सन संरचना र आवश्यक हेड सुनिश्चित नगरी उक्त क्षमतामा पानी प्रवाह गराउन कठिन हुने देखिएको छ।
अल्पकालीन र दीर्घकालीन योजना आवश्यक
मन्त्री श्रेष्ठले परियोजनाको तत्कालीन तथा दीर्घकालीन समस्या समाधानलाई एउटै योजनामा समेटेर अघि बढाउनुपर्ने बताउनुभयो। जलस्रोत तथा सिँचाइ विभागले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन उपाय समेटिएको एकीकृत कार्ययोजना तयार गरी स्वीकृत गराउनुपर्ने उहाँको भनाइ थियो।
कार्ययोजनामा प्रत्येक कामको जिम्मेवार निकाय, लागत, बजेटको स्रोत, कार्यान्वयन समयसीमा र मापनयोग्य उपलब्धि स्पष्ट रूपमा तोकिनुपर्ने उहाँले बताउनुभयो। नियमित बजेट तथा सुनसरी–मोरङ सिँचाइ पुनर्स्थापना तथा सुधार कार्यक्रमलगायतका स्रोतलाई समन्वय गरी काम अघि बढाउनुपर्नेमा पनि उहाँले जोड दिनुभयो।
अल्पकालीन उपायलाई दीर्घकालीन संरचनाको विकल्पका रूपमा लिन नहुने स्पष्ट पार्दै मन्त्री श्रेष्ठले ड्रेजिङ, स्पर निर्माणलगायतका तत्कालीन व्यवस्थापनका काम दीर्घकालीन डिजाइन र स्थायी संरचनाका पूरक हुनुपर्ने बताउनुभयो।
“ड्रेजर खरिद गरेपछि समस्या समाधान भयो भन्ने सन्देश जानु हुँदैन,” उहाँले भन्नुभयो, “अल्पकालीन व्यवस्थापनसँगै स्थायी समाधानका लागि आवश्यक संरचना निर्माण गर्ने स्पष्ट योजना हुनुपर्छ।”
कोशी नदीले हरेक वर्ष ठूलो परिमाणमा गेग्रान बगाएर ल्याउने र आफ्नो बहाव परिवर्तन गरिरहने भएकाले सुनसरी–मोरङलगायत ठूला सिँचाइ प्रणालीमा निरन्तर समस्या देखिँदै आएको छ।
यस अवस्थामा नयाँ आयोजना निर्माणलाई प्राथमिकता दिने वा सञ्चालनमा रहेका ठूला सिँचाइ प्रणालीको पुनर्स्थापना तथा स्तरोन्नतिमा लगानी गर्ने भन्ने विषयमा स्पष्ट प्राथमिकता निर्धारण गर्नुपर्ने मन्त्री श्रेष्ठले बताउनुभयो।
पुराना सिँचाइ प्रणालीको संरक्षण, पुनर्स्थापना र आधुनिकीकरणलाई प्राथमिकतामा राख्दै नयाँ आयोजनाको आवश्यकता र सम्भाव्यताको वस्तुगत मूल्यांकन गरेर अघि बढ्नुपर्ने उहाँको धारणा थियो।
सिँचाइलाई कृषि उत्पादन, रोजगारी र स्थानीय अर्थतन्त्रसँग जोडेर अघि बढाउन सके ग्रामीण क्षेत्रबाट हुने जनसंख्या पलायन न्यूनीकरणमा समेत महत्वपूर्ण योगदान पुग्ने उहाँले बताउनुभयो।

