काठमाडौँ: राष्ट्रिय धान दिवसका अवसरमा आज देशभर विभिन्न कार्यक्रम सहित धान रोपेर मनाईएको छ ।खेतखेतमा बाजागाजा सहित कार्यक्रम गरेर सरकारका मन्त्री, कर्मचारी तथा किसनहरुले धान रोपेर १५ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा मनाएका हुन् । बिदेशी तथा किसनहरुले एक आपसमा हिलो खेलर रमाईलो गरि मजा लिएका छन् ।
गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय धान दिवसका अवसरमा आज टोखा नगरपालिका झोरमा धान रोपाइँ गरेका छन् ।
युवासंघ नेपाल र वाइसिएल नेपाल एकता कार्यदलले आयोजना गरेको सो कार्यक्रममा गृहमन्त्री थापाले धान रोपेका हुन् । रोपाइँपछि सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री थापाले आफू पनि कृषकको छोरा भएकाले यस्तो रोपाइँमा पहिले धेरै पटक सहभागी भएको स्मरण गरे ।
विकास र समृद्धिका लागि कृषि क्षेत्रको विकास अनिवार्य रहेको तथा कृषिमा मुलुक आत्मनिर्भर हुन आवश्यक रहेकामा उनले जोड दिए । उनले भने , “अहिले हामीलाई नपुगेर बाहिरबाट खाद्यान्न मगाएर खाने गरेका छौँ । अब खाद्यान्नमा आत्मनिर्भर हुँदै निर्यात गर्न सक्ने गरी विकास गनुपर्छ ।”
त्यसैगरी, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले किसानलाई पाँच वर्षभित्र कृषिमा आत्मनिर्भर बनाई नेपालमा कृषिमा क्रान्ति ल्याउने बताएका छन् ।
झापाको कमल गाउँपालिकाले धान दिवसको अवसरमा आज केरखामा आयोजना गरेको धान रोपाई कार्यक्रममा सहभागी हुँदै मन्त्री बाँस्कोटाले यस्तो बताएका हुन् । किसानलाई सहयोग गर्न राज्य हरपल तयार छ मन्त्री बाँस्कोटाले भने – “कृषिजन्य सामग्री उत्पादनका लागि झापा उर्भर भूमि हो, यहाँका किसानलाई कृषि उत्पादनमा बढावा दिन राज्य लगानी गर्न तयार छ ।”
मन्त्री बाँस्कोटाले केरखामा आयोजना गरेको धान रोपाई कार्यक्रममा केहीबेर धानसमेत रोप्नु भएको थियो ।
पर्याप्त वर्षा नभएका कारण अहिलेसम्म दाङमा १५ प्रतिशत मात्र धान रोपाइँ भएको छ । सिँचाईको अभावमा रोपाइँ हुन नसक्दा धानको ब्याडसमेत छिपिँदै गएको छ । जिल्लामा ३८ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने गर्छन् ।
पर्याप्त वर्षा नहुँदा अहिलेसम्म १५ प्रतिशत जमीनमा मात्र धान रोपाइँ भएको जिल्ला कृषि विकास कार्यालय दाङका वरिष्ठ कृषि विकास अधिकृत दीपककुमार शर्माले जानकारी दिए ।
म्याग्दीका ग्रामीण महिलाले हिजोआज खेत जोत्न थालेका छन् ।
महिलाले गोरुको सहायताले खेत जोत्न नहुने परम्परा रहे पनि पछिल्लो समयमा यान्त्रिक हलो गाउँगाउँमा भित्रिएपछि उनीहरु खेत जोत्न थालेका हुन् ।
बिहीबार रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा धान रोपाइँमा यान्त्रिक हलोले खेत जोतिरहेकी कमला केसीले यान्त्रिक हलो (मिनी पावर टिलर) गाउँमा भित्रिएपछि महिलालाई पनि खेत जोत्न सक्ने सुविधा भएको बताईन ।
“गोरुले जोत्दा महिलाले हलो छुन हुँदैन भन्थे, खेत जोत्नका लागि मान्छे खोज्नुपर्ने बाध्यता थियो, अहिले यान्त्रिक हलो भित्रिएपछि भाडामा लिएर आफँैले समेत जोत्ने गर्छौं”, केसीले भनिन ।
पछिल्लो समय गाउँघरमा गोरु पाल्ने चलन हराउँदै गएको सन्दर्भमा यान्त्रिक हलोको प्रयोग बढिरहेको छ । छिटो र छरितोरुपमा खेत जोत्न सकिने भएकाले पनि कृषक यान्त्रिक हलोको प्रयोगतर्फ आकर्षित भइरहेका छन् ।