पहिलोक्लिक समाचारदाता
काठमाडौं ः गएको चार दिनदेखि भएको अविरल वर्षाका कारण देशभरमा हालसम्म २८ जनाको मृत्यु भएको छ ।
गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार बाढी पहिरो तथा विभिन्न प्राकृतिक प्रकोपबाट १८ जिल्ला प्रभावित भएको छ ।
केन्द्रका उपसचिव शंकरहरि आचार्यका अनुसार हिजो र आज ५ बजेसम्ममा छ जनाको ज्यान गएको जानकारी सरकारलाई प्राप्त भएको छ भने हिजोको ५ बजे अघिसम्म बाढी पहिरोबाट ज्यान गुमाउनेको संख्या २२ मात्र थियो ।
बाढी प्रभावित जिल्लाहरुमा कैलाली, बाँके, बर्दिया, दाङ, सर्लाही, सिरहा, पर्सा, मकवानपुर, काठमाडौं, नुवाकोट, काभ्रे, तनहुँ, सिन्धुली, उदयपुर, चितवन, महोत्तरी, रोल्पा र बारा रहेका छन । प्राकृतिक प्रकोपबाट बाँकेमा सबैभन्दा बढी ४ जनाले ज्यान गुमाएका छन भने पर्सा र रोल्पामा ३, ३ जनाको मृत्यु भएको छ ।