काठमाडौं : सत्तारुढ नेकपाको बैठकमा शीर्ष नेताहरूकै ‘परस्पर विरोधी’ दस्तावेज पेश भएका छन्। पार्टी एकतापछि पहिलो पटक लिखित राजनीतिक दस्तावेजसहित सुरु नेकपा स्थायी समिति बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालको साझा राजनीतिक प्रतिवेदनमाथि सचिवालय सदस्य वामदेव गौतमले छुट्टै प्रस्ताव पेश गरेका छन्।
अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन ओलीले नेतृत्वको सरकारको ९ महिने अवधिमा महत्वपूर्ण उपलब्धी हासिल गर्न सफल भएको विश्लेषणसहित आएपछि नेता गौतमको छुट्टै पुरक प्रस्ताव आएको हो।
प्रधानमन्त्री ओलीले बैठकमा सरकारको काम असाधारण, आश्चर्यजनक खालको उपलब्धी मूलक रहेको दाबी गरेका थिए। ‘सरकारको उपलब्धी असाधारण र आर्चश्यजनक ढंगको छ। सरकारको काम सगरमाथा नै पुगे–पुगे जस्तो छ। तर सगरमाथानै पुगेको त नठानौं, आधार शिविरसम्म पुगेको ठाने हुन्छ’, प्रधानमन्त्रीको धारणा सुनाउँदै एक स्थायी समिति सदस्यले भने।
‘राजनीतिक र आर्थिक अवस्था निकै अस्तब्यस्त अवस्थामा सरकारको नेतृत्व गरे पनि वृहतर राजनीतिक सहमति निर्माण, मुलुकको वाह्य सम्बन्धमा सुधार, अर्थतन्त्रको सुदृढीकरण, सार्वजनिक प्रशासनको उचित ब्यवस्थापन, तिनै तहको सरकार सञ्चालन, कानुन निर्माण र संविधान कार्यान्वयन तथा विसंगति नियन्त्रणमा सरकारको ९ महिनाको अवधिमा महत्वपूर्ण उपलब्धी हासिल भएको छ’, अध्यक्षद्वयको २२ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा उल्लेख छ। ती विषयलाई ओली–दाहालको साझा दस्तावेजमा बुँदागत चर्चा समेत गरिएको छ।
अध्यक्षद्वय ओली र दाहालले संक्षिप्त सम्वोधन गरी राजनीतिक प्रतिवेदन बैठकमा पेश गरिसकेपछि नेता गौतमले ‘मेरो पनि लिखित मत छ। फोटोकपी गरेर ल्याएको छु। अध्यक्षद्वयको दस्तावेजमा पुरक अंश हुनेछ’, भन्दै आफ्नो १६ पृष्ठ लामो पुरक दस्तावेजमा पेश गरेका छन्।