काठमाडौँ: सरकारले आर्थिक वर्ष २०७५र७६ का नीति र कार्यक्रमहरु कार्यान्वयन गर्न कूल १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
संघीय संसदको आजको संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले कूल विनियोजनमध्ये चालूतर्फ आठ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख रुपैया अर्थात ६४.३ प्रतिशत र पूँजीगततर्फ तीन खर्ब १३ अर्ब ९९ करोड ८२ लाख अर्थात २३.९ प्रतिशत र वित्तीय व्यवस्थातर्फ एक खर्ब ५५ अर्ब ७१ करोड ६० लाख अर्थात ११.८ प्रतिशत रहेको जानकारी दिए ।
आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजश्वतर्फ ८ खर्ब ३१ अर्ब ३१ करोड ८० लाख रुपियाँ र वैदेशिक अनुदानबाट ५८ अर्ब ८१ करोड ५५ लाख ब्यहोर्दा चार खर्ब २५ अर्ब २ करोड ८२ लाख बजेट न्यून हुनेछ ।
बजेटमा देखिएको न्यून पूर्ति गर्नका लागि वैदेशिक ऋणबाट दुई खर्ब २५ अर्ब २ करोड ८२ लाख जुटाइने र राजश्व परिचालन र वैदेशिक अनुदान तथा ऋण सहायता परिचालन गर्दा अपुग हुने खूद एक खर्ब ७२ अर्ब आन्तरिक ऋणबाट व्यहोरिने खतिवडाले जानकारी दिए ।
सरकारले आगामी आर्थिक वर्षमा आर्थिक वृद्धिदर आठ प्रतिशतको हाराहारीमा पुग्ने अपेक्षा गरेको छ । आगामी आर्थिक वर्षको आयव्ययको विवरण (बजेट)मा हालसम्मकै महत्वाकाक्षी आर्थिक वृद्धिदर हुने अपेक्षा गरिएको हो ।
चालु आर्थिक वर्षमा सरकारले पाँच दशमलव नौ प्रतिशत आर्थिक वृद्धिदर हुने संशोधित अनुमान गरिएको छ । गत वर्षको बजेट प्रस्तुत गरिदा सात दशमलव दुई प्रतिशत आर्थिक वृद्धिदर हुने अपेक्षा राखिएको थियो ।
यस्तै मूल्य वृद्धिदरलाई पनि पाँच प्रतिशतमा सिमित गर्ने अनुमान सरकारको छ ।