काठमाडौं: अनशनरत डा गोविन्द केसीको समर्थनमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालका आवासीय चिकित्सकहरु शुक्रबारबाट हडतालमा उत्रेका छन् ।
केसी हाल जुम्ला अस्पतालमा १४ दिनदेखि आमरण अनशनमा बसिरहेका छन् ।
सरकारले बुधबार उनलाई काठमाडौं ल्याउने प्रयास गरे पनि त्यो असफल भएको थियो ।
यहीबीच, त्रिवि शिक्षण अस्पतालमा कार्यरत आवासीय चिकित्सकहरुको संस्था नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसन (एनआरडीए) ले आजबाट आकस्मिकबाहेकका सबै सेवा ठप्प परेका हुन् ।
एनआरडीएले बिहीबार एक विज्ञप्ति जारी गर्दै सरकारी रवैयाले आकस्मिकबाहेकका सबै सेवा ठप्प पार्ने कठोर बाटो रोजेको जनाएको छ ।
‘१३ दिनसम्म पनि अनशनप्रति सरकार मौन रहनुले हामीलाई स्तब्ध बनाएको छ’, एनआरडीएद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कालोपट्टी बाँध्नेलगायतका विरोधका कार्यक्रमको सुनुवाइ नभएपछि कठोर कदम चाल्न बाध्य भएका छौं ।’
एनआरडीएले यसबाट हुने क्षति र असुविधाप्रति संगठन नभएर सरकार जिम्मेबार हुने समेत विज्ञप्तिद्वारा स्पष्ट पारेको छ ।